मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड–१९ महाव्याधिसँग जुघ्नका लागि भारतीय सहयोग जारी रहने !

शुक्रबार, २८ चैत २०७६, २० : ४४
शुक्रबार, २८ चैत २०७६

कोरोनाभाइरस महाव्याधिसँग जुघ्नका लागि भारतले नेपाललाई प्रदान गर्दै आइरहेका औषधि लगायतका सहयोगहरु निरन्तर जारी राख्ने बचन दिएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको टेलिफोन वार्तामा भारतले उक्त वचनबद्धता प्रकट गरेकाे हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले नेपालसँगको सीमाक्षेत्रको व्यापार पनि बिनाअवरोध सञ्चालन गर्ने कुराको सुनिश्चित गर्ने आश्वासन पनि दिएको छ ।

टेलिफोन वार्ताकै क्रममा दुवै देशका प्रधानमन्त्रीहरुले कोभिड–१९ विरुद्धको संघर्षका सन्दर्भमा सिर्जित वर्तमान परिस्थितिका बारेमा छलफल गरेका थिए भने आगामी दिनहरुमा अहिलेका प्रयत्नलाई झनै घनीभूत पार्दै लैजाने कुरामा सहमत भएका थिए । अहिले दुवै देशमा लागू गरिएको ‘लकडाउन’ को सन्दर्भमा दुवै देशका प्रधानमन्त्रीहरुले आआफ्ना देशमा रहेका दुवै देशका नागरिकहरुको भलाइ तथा चिकित्सीय रेखदेखको सुनिश्चितता गरिने कुरामा सहमति प्रकट गरेका थिए ।


सोही अवसरमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट प्रधानमन्त्री ओलीले भारतले उपलब्ध गराउँदै आएको तथा उपलब्ध गराउन लागेका अत्यावश्यक औषधीहरु तथा चिकित्सीय सामग्रीहरुको आपूर्तिका लागि भारत सरकार, भारतीय जनता तथा भारतीय प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।

साथै, दुवै देशका प्रधानमन्त्रीद्वयले सीमा क्षेत्रमा भइरहेको अत्यावश्यक सामग्रीहरुको विनारोकतोक आपूर्तिप्रति सन्तोष प्रकट गर्दै त्यसको निरन्तरताको सुनिश्चितता गरिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सोही अवसरमा दुवै प्रधामन्त्रीले सार्क नेतृत्वका बीचमा भएका भिडियो कन्फ्रेन्सले यस क्षेत्रका सबै देशहरुमा कोभिड–१९ विरुद्धको प्रयत्नलाई घनीभूत पार्न उत्प्रेरित गरेकोमा सन्तोष प्रकट गरेका थिए ।

टेलिफोन वार्ताकै क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण भारतमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता र कोरोनाका कारण मृत्युवरण गरेकाहरुको शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । त्यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले पनि कोभिड–१९ को चुनौतिविरुद्ध लड्नका लागि नेपाली जनताले देखाएको साहस र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

वार्ताका दौरानमा दुवै देशका प्रधानमन्त्रीहरुले नेपाल भारतबीच विद्यमान बहुआयामिक सम्बन्धको बारेमा चर्चा गर्दै त्यसलाई पारस्परिक हितका पक्षमा अझ सुदृढ र मजबूत पार्दै लैजाने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप