सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सेवा–सुविधा विवाद : नेपाल बैङ्कमा कुरा मिल्यो, वाणिज्य बैङ्कमा अझै असन्तुष्टि

मङ्गलबार, १६ वैशाख २०७७, १० : २०
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं । लकडाउनको समयमा कर्मचारीले पाउने सेवा सुविधाका सम्बन्धमा नेपाल बैङ्कमा लामो समयदेखि चल्दै आएको विवाद अन्त्य भएको छ । सोमबार व्यवस्थापन र बैङ्कभित्र कार्यरत सबै कर्मचारी संगठनहरुबीच सहमति भएसँगै यो समस्या समाधान भएको हो ।

कर्मचारीसम्बद्ध संस्थाहरुले नेपाल बैङ्कमा कार्यरत कर्मचारीहरुलाई काम गरेवापत सरकारले तोकेअनुसारको अतिरिक्त सुविधाहरु दिनुपर्ने, बैङ्कभित्र स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिनुपर्ने लगायतका माग यसअघि गर्दै आएका थिए । तर, व्यवस्थापनले माग पूरा गर्नुको साटो विपद्को समयमा कर्मचारीहरुलाई निकाल्ने, अनिवार्य बिदामा बस्न लगाएर भुक्तानी नै नदिने जस्ता कार्य गरेको भन्दै कर्मचारी युनियनहरुले विरोध जनाउँदै आएका थिए ।

सोमबार बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा बैङ्क व्यवस्थापनका तर्फबाट समता पन्त, लक्ष्मण पौडेल, प्रकाश कुमार अधिकारी होमबहादुर खड्का र दीपेन्द्रराज काफ्ले तथा कर्मचारी युनियनका तर्फबाट नेपाल बैङ्क कर्मचारी संघका कार्यबाहक अध्यक्ष नवराज लम्साल, नेपाल वित्तीय संस्था कर्मचारी संघका सचिव जीवराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका मोहन कुमार श्रेष्ठ तथा नेपाल बैङ्क कर्मचारी युनियनका राजुराम मुनकर्मीले उक्त सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेर सहमति गरेका हुन् ।

उक्त सहमति अनुसार लकडाउन सुरु भएपछि बैशाख ८ गतेसम्म खोलिएका शाखा कार्यालयको काउन्टरमा बस्ने कर्मचारीलाइृ ७५ प्रतिशत र अन्यलाई ५० प्रतिशत भत्ता दिने, सञ्चार खर्चबापत मासिक ५०० रुपैयाँ दिने, करारमा कार्यरत कर्मचारी र सुरक्षा गार्डलाई पनि ५० प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ ।

त्यस्तै, लकडाउनको समयलाई बिदा गणना गर्ने सम्बन्धमा सरकारको निर्णयपश्चात् व्यवस्थापन र युनियनबीच फेरि छलफल गर्ने भनिएको छ । सोमबार बेलुकी मात्रै सरकारी निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ ।

त्यस्तै, सबै कर्मचारीलाई आलोपालो ढंगले काममा लगाउने, लकडाउनको घोषणा हुँदा बाहिर रहेका कर्मचारीलाई आवश्यक समन्वय गरी कार्यस्थलसम्म पुर्याउने व्यवस्था गर्ने, कोरोनाभाइरसको बीमाका लागि एक लाख रुपैयाँसम्मको बीमाको लागि बैङ्कले प्रिमियम तिरिदिने, कोरोनाका कारण कसैको मृत्यु भएमा २५ लाखको क्षतिपूर्ति राहत कोषबाट दिने, संक्रमण देखिए वा शंका लागेमा क्वारेन्टाइनमा बस्दाको अवधि विदा दिने र उपचार खर्च पनि बैङ्कले व्यहोर्ने लगायत सहमति भएका छन् ।

बैङ्क र कर्मचारी युनियनबीच भएको उक्त सहमति अनुसार बैङ्कले आफ्ना सबै शाखा कार्यालय, प्रादेशिक कार्यालय र विभागहरुलाई त्यस्तो सहमति लागु गर्न परिपत्र पठाइसकेको छ । यसअघि बैशाख ७ मा बैङ्कले जारी गरेको परिपत्रमा बैङ्कको सञ्चालन खर्च घटाउनेगरी कर्मचारीको सेवा सुविधा कटौती गर्ने निर्णय गरेको थियो ।


वाणिज्य बैङ्कमा अझै असन्तुष्टि

त्यसो त सोमबार नै राष्ट्रिय वाणिज्य बैङ्कले पनि आफ्ना मातहतका सबै कार्यालयमा कर्मचारीलाई दिइने सेवा र सुविधाका सम्बन्धमा परिपत्र गरेको छ । सो परिपत्रमा लकडाउनको समयमा कार्यरत कर्मचारीको १ लाख रुपैयाँसम्मको बीमा प्रिमियम तिरिदिने, कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएमा कर्मचारी अवकाश कोषबाट १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, सबै कर्मचारीलाई आलोपालो गरेर काममा खटाउने, लकडाउन घोषणा गर्दा कार्यालय बाहिर रहेकालाई कार्यालयमा ल्याउने व्यवस्था गर्ने, केन्द्रीय कार्यालय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने र शाखा कार्यालयहरु स्थानीय प्रशासनले अन्यथा नभनेको अवस्थामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला राख्ने लगायतका व्यवस्था छन् ।

तर, वाणिज्य बैङ्कको पछिल्लो परिपत्रले कर्मचारीलाई सुरुको तलब स्केल बराबरको पारिश्रमिक दिने र दैनिक यातायात खर्च उपलब्ध गराउने व्यवस्था १६ गतेदेखि स्थगित गर्ने भनेको छ । यो निर्णयप्रति कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले स्थानीय प्रशासनलाई लकडाउन कडा गर्न निर्देशन दिएको अवस्थामा कार्यालयले नै यातायातको व्यवस्था गर्नुपर्ने र यसअघिजस्तै दैनिक भत्ता दिनुपर्ने माग गर्दै आएका छन् ।

यसअघि नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) लगायतले बैङ्क तथा वित्तीय संस्थाहरुमा कर्मचारीलाई निकाल्ने प्रयास गरेको, सेवा सुविधाबाट वञ्चित गरेको भन्दै विषम परिस्थितिमा गरिएको त्यस्तो कार्य सह्यै नहुने चेतावनी दिएको थियो । फियनको पहल र सम्बन्धित बैङ्कका कर्मचारी संगठनको सक्रियताले यी मागहरु पूरा भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप