बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नोक्सानमा रहेको नेपाल एयरलाइन्सलाई कोरोनाको झड्का : ६ अर्ब  नोक्सान, ऋणको किस्तासमेत तिर्न सकेन

निगमको बोइङ बिक्री अन्योलमा
बिहीबार, २५ वैशाख २०७७, १० : ०१
बिहीबार, २५ वैशाख २०७७

सधैँ घाटाको व्यवसाय गर्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई लकडाउनले अर्को  झड्का दिएको छ । कोरोनाका कारण उडान बन्द भएपछि एयरलाइन्स प्रभावित बनेको हो । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले असारसम्म नै उडान प्रभावित हुने देखिएकाले ६ अर्ब नोक्सान हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘हामीले असारसम्म ६ अर्ब नोक्सान हुने अनुमान गरेका छौँ । अब कर्मचारीलाई तलब खुवाउनै समस्या पर्ला जस्तो छ ।’

यसअघि यो एयरलाइन्स वर्षमै झण्डै पौने २ अर्बकै हाराहारीमा घाटा हुने गरेको थियो । गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै १ अर्ब ८२ करोड घाटा भएको थियो । लकडाउनले सम्पूर्ण उडान बन्द हुँदा घाटाको फिगर माथि चढ्नेवाला छ । अझै कति दिनसम्म यस्तै अवस्था रहने हो अहिले नै यकिन नोक्सान भन्न नसकिने अध्यक्ष घिमिरेले बताए । निगमले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ सय ४५ रुपैयाँ आम्दानी गरेको थियो भने आन्तरिक उडानबाट २९ करोड ५२ लाख ९५ हजार ३ सय ८४ रुपैयाँ आम्दानी गरेको थियो ।


निगमकी प्रवक्ता अर्चना खड्का अहिले सबै उडान बन्द भएकाले निगमको घाटामा भयावह स्थिति आउन सक्ने बताउँछिन् । नेपाल एयरलाइन्स अहिले विदेशी नागरिक फिर्ता लैजान धमाधम चार्टर भइरहेको छ । नोक्सानीका कारण आफ्नो शाख गुमाएको एयरलाइन्सलाई  विदेशी यात्रुको विश्वास जित्ने अवसर भने सिर्जना भएको छ । बुधबार मात्र अस्ट्रेलियन नागरिक लिएर जहाज सिड्नी उडेको छ । यस्तै कार्गो लिन बेइजिङ पनि उडेको छ । नेपाल वायु सेवा निगमकी प्रवक्ता  खड्का अहिलेको परिस्थितिले अन्तर्राष्ट्रिय उडानमा विश्वास जित्ने मौका पनि भएको बताउँछिन् । उनी भन्छिन्, ‘सम्पूर्ण उडान बन्द छ । तर पनि हामीले यसबीचमा ८ वटा चार्टर उडान भरिसक्यौँ । योबाहेक बुधबार दुईवटा उडान छ । हामीले जति चार्टर आएको छ त्यो सबै लिएका छौँ ।’

बर्सेनि घाटामा गइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरोनाका कारण भएको लकडाउनले झनै भयावह स्थिति ल्याउन सक्ने देखिएको छ ।


लकडाउनले नेपाल वायुसेवा निगमको बोइङको बिक्री पनि अन्योलमा परेको छ । निगमसँग रहेको ३२ वर्ष पुरानो बोइङ बिक्री गरी फेब्रुअरी भित्रमा उडाएर लगिसक्नुपर्ने थियो तर कोरोनाले अन्योलमा पारेको हो । निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरे पनि कोही नआएपछि दोस्रो पटक पुनः निकालेको थियो । जहाज बिक्री गरिसक्नुपर्ने समयमा कोरोनाले विश्वभर प्रभाव पारेपछि निगमको ६७ करोड रुपैयाँ डुब्ने जोखिम बढेको हो ।


प्रवक्ता खड्काका अनुसार हप्तामा १४ वटा  अन्तर्राष्ट्रिय र २० वटा आन्तरिक उडान हुने गरेको थियो । दोहा (सातवटा), दुबई (५ वटा) हङ्कङ, मलेसिया, बैङ्कक, बैङ्ग्लोर र मुम्बई हप्ताको ३, ३ वडा उडान हुन्थ्यो । जापानको नारिता पनि उडान हुने गरेको थियो । यी सबै बन्द छन् । यसकारण अहिले नै कति नोक्सान हुन्छ, आकलन पनि गर्न सकिँदैन ।

निगमको बोइङ बिक्री अन्योलमा

लकडाउनले नेपाल वायुसेवा निगमको बोइङको बिक्री पनि अन्योलमा परेको छ । निगमसँग रहेको ३२ वर्ष पुरानो बोइङ बिक्री गरी फेब्रुअरी भित्रमा उडाएर लगिसक्नुपर्ने थियो तर कोरोनाले अन्योलमा पारेको हो । निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरे पनि कोही नआएपछि दोस्रो पटक पुनः निकालेको थियो । जहाज बिक्री गरिसक्नुपर्ने समयमा कोरोनाले विश्वभर प्रभाव पारेपछि निगमको ६७ करोड रुपैयाँ डुब्ने जोखिम बढेको हो । तर प्रवक्ता खड्का भने लकडाउनले  बिक्री प्रक्रिया प्रभावित भएको र अवस्था सामान्य हुने वित्तिकै बिक्री हुने बताउँछिन् ।

ऋणको किस्ता समेत तिर्न सकेन

चालू आर्थिक वर्ष लागेयता निगमले सञ्चयकोषबाट लिएको ऋणको एक किस्ता मात्र तिरेको छ । सञ्चयकोषका अधिकारीका अनुसार प्रत्येक तीन, तीन महिनामा निगमले ऋणको किस्ता तिर्नुपर्ने हो । चैतसम्मको किस्ता तिरेको छैन । निगमले सरकारसँग किस्ता तिरिदिन माग गरेको थियो । निगम स्रोतका अनुसार सरकारले निगमको किस्ता तिरेन ।

निगमलाई २०५४ सालदेखि कोषले ऋण लगानी गर्दै आएको छ । वायुसेवा निगमले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएको थियो । सञ्चयकोष लगानी शाखाका अर्जुन गौतमका अनुसार वाइडबडी र न्यारोबडी किन्न १२ अर्ब र १० अर्ब ऋण लगेको हो । पछिल्लो जहाजका लागि १२ अर्ब लगेको थियो  ।

गौतमका अनुसार चालू वर्ष किस्ता तिर्न बाँकी ३ अर्ब रुपैयाँ रहेको छ  । ऋण २३ अर्ब रुपैयाँ छ यसमा ३ अर्ब अहिले तिर्नुपर्ने र बाँकी विस्तारै किस्तामा तिर्नुपर्ने उनले बताए ।

तर निगमका अध्यक्ष घिमिरेले लकडाउनले किस्ता तिर्नसमेत समस्या परेको बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप