काठमाडौं उपत्यकाभित्र निर्माण हुने ४ नयाँ सहरको डिपिआर तयार
काठमाडौं । काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको ४ वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ ।
समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ । बाँकी दुईवटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय)को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । समितिको जेठ २५ गतेको बैठकले डिपिआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने छ ।
काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद बिक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन् । चारवटा आयोजना मध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ कारोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात कारेड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई÷दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताए ।
एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व-उत्तर)को डिपिआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् । चारवटा परियोजनामा काठमाडौं ईसान (पूर्व-उत्तर), काठमाडौं आग्नेय (पूर्व-दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण-पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।
परियोजनामा काठमाडौं ईसान (पूर्व-उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कूल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल रहेको छ । यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटो सम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ ।
काठमाडौं आग्नेयको कूल क्षेत्रफल १० हजार रोपनी रहेको छ । यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक बनलाई बाहिर पार्दै जाने छ । पश्चिमतर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ । उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ ।
काठमाडौं नैऋत्यको कूल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदी सम्मको क्षेत्र रहेको छ ।
काठमाडौं उत्तरको कूल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुदै महादेव खोला सम्मको क्षेत्र समावेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा