युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना प्रस्तुत
ब्रसेल्स । कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ ।
महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा गर्न लागेको हो । कोरोनाभाइरसबाट विश्वभर तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् ।
दक्षिण (ल्याटिन) अमेरिकामा भाइरसको विनाशलिला जारी रहेकै अवस्थामा युरोपमा भने संक्रमणमा केही न्यूनता आएसँगै बिस्तारै व्यवसाय खोल्न थालिएको छ । तर युरोपमै सर्वाधिक क्षति व्यहोरेका इटाली र स्पेनलाई आफ्नो अर्थव्यवस्था पुनर्जीवित तुल्याउन निकै हम्मे पर्ने देखिएको छ ।
युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लिनले बुधबार १० खर्ब युरोको आर्थिक प्रस्ताव युरोपेली संसदमा प्रस्तुत गर्नु हुनेछ । कोरोना महामारीबाट सर्वाधिक असर परेका मुलुकका लागि यस प्रस्तावमा ऋण र अनुदान दुबै उपलब्ध गराउने योजना समेटिएको छ ।
युरोपेली संसदमा यस प्रस्तावमाथि निकै चर्को बहस हुनेछ किनकि इटाली र स्पेन जस्ता पहिल्यै ऋणभार बढी भएका र महामारीको क्षति पनि बढी सहनु परेका मुलुकले ऋणभन्दा अनुदानकै लागि पहिलो प्रयास गर्नेछन् । युरोपेली महादेशले कोभिड–१९ बाट एक लाख ७२ हजारभन्दा बढी मानिस गुमाइसकेको अवस्थामा आएको नयाँ आर्थिक प्रस्तावले मानवीय क्षति र आर्थिक विनाशलाई सम्बोधन गर्नुपर्ने कठिन अवस्था छ ।
स्पेनमा कोरोनाबाट निधन भएकाहरुको सम्झनामा बुधबारदेखि १० दिने शोक मनाइँदैछ । यहाँ २७,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनका सबै सरकारी, सार्वजनिक भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
महामारीको चपेटामा परेका इटाली, जर्मनी, फ्रान्स र बेलायत समेतका धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । मानिसहरूलाई पसल जान, समुद्र किनारमा डुल्न, पार्कहरुमा दौडिन अनुमति दिइएको छ ।
यसैबीच, रूसले कोरोना संक्रमणको चरम सीमा पार गरिसकेको जनाएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण