शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरिता गिरीलाई किन भएन कारवाही ? कारवाही-पत्र अर्का नेताको गोजीमा

सोमबार, ०१ असार २०७७, १३ : ३८
सोमबार, ०१ असार २०७७

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले गर्ने कारवाहीमा केही समयका लागि भए पनि ब्रेक लागेको छ । गिरीलाई आइतबार नै कारवाही गर्ने तयारी भए पनि प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीको बैठक बसेरमात्र कारवाही गर्नुपर्ने अडान राखेपछि हाललाई गिरीको कारवाही टरेको हो ।

सांसद गिरीलाई पार्टीको सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट समेत हटाउने तयारी थियो । त्यसका लागि संसदीय दलबाट कारवाही पत्र पनि तयार भइसकेको थियो । सो पत्र लिएर जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ संसदका प्रमुख सचेतक उमाशंकर अरगरियासँग हस्ताक्षर गराउन प्रतिनिधिसभामा नै पुगेका पुगेका थिए तर सो पत्रमा सचेतक अरगरियाले हस्ताक्षर गर्न मानेनन् । 

कारवाहीका लागि संसदीय दलको बैठक बस्नुपर्ने र सो बैठकबाट निर्णय भएपछि मात्र आफूले पत्रमा हस्ताक्षर गर्ने प्रमुख सचेतक अरगरियाले अडान लिएका थिए । स्रोतकाअनुसार अरगरियाले संसदीय दलको बैठकमा सांसद सरिता गिरीलाई आफ्नो कुरा राख्ने मौका दिनुपर्ने र सिधै कारवाही गर्नुभन्दा पहिले एकपटक उनले स्पष्टीकरण दिने मौका पाउनुपर्छ भनेपछि नेता श्रेष्ठले सो पत्र आफ्नो गोजीमा राखेका थिए । 

नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ गते संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् । सो संशोधन दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलले उक्त संशोधन फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो ।

तर गिरीले सो संशोधन फिर्ता लिन मानिनन् । यद्यपि गिरीले दर्ता गराएको विधेयक संसद सचिवालयबाट अस्वीकृत भइसकेको छ ।

यस विषयमा जसपा नेपालका नेता श्रेष्ठसँग सम्पर्क गर्दा उनले कुनै प्रतिकृया दिएनन् भने प्रमुख सचेतक अरगरिया र सांसद गिरीको मोबाइल अफ रहेको छ । 

सांसद गिरीलाई मधेशी नेताहरु कारवाही गर्ने पक्षमा छैनन् । गिरीका कदमलाई मधेशमा सकारात्मक लिइएको हुनाले त्यहाँबाट राजनीतिक गर्ने नेताहरु सकभर गिरीलाई कुनै प्रकारको कारवाही नहोस् भने पक्षमा छन् । सो पार्टीमा रहेका पहाडी समुदायका नेताहरु भने गिरीलाई कारवाही हुनुपर्ने पक्षमा छन् ।

गिरीलाई कारवाही भयो भने खस आर्यबाट अर्को महिलालाई सांसदमा राख्न सकिने दाउ ती नेताहरुको रहेको अर्का एक नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप