बाढीले बूढीगङ्गाका ४ गाउँ विस्थापित
मार्तडी । लगातारको वर्षाका कारण अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा छन् । अविरल वर्षाका कारणले गर्दा गोरेटो बाटो हुँदै पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेका छन् । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ र २ वडाका बस्ती पहिराका कारण विस्थापित भएका छन् ।
सोही नगरपालिका–१ मा पर्ने कुँडी र अम्कोट तथा २ वडामा पर्ने बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेरालगायत बस्ती विस्थापित भएका छन् । आइतबार आएको अविरल वर्षात्ले नडाङ खेतकोटबाट बग्ने पानीमूल र ठाडो खोलाबाट मिसिएको घट्टेखोलाको बाढीले सोही दुई वडाका ताँप्रीसेरा, मुसी र खर्राकाखेतीयोग्य जमीन बगरमा परिणत भएको २ का वडाध्यक्ष हिरालाल थापाले बताए ।
गएराति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्किएकाले विस्थापित भई छिमेकीका घरमा सरेको स्थानीय अगुवा खड्कराज जोशीले बताए । पहिराले पूरै गाउँ जोखिममा छ । लामो समयदेखि आएको पहिरो र बजेडीमा पानी परेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । पानी आएका बेला गाउँमा भेला भएर बालबालिकालाई काखमा च्याप्दै मानिस जाग्राम बस्ने गरेको स्थानीयवासी गमे ल्वारले बताए ।
यसैगरी सोही वडा नडाङका १० परिवार घर चर्किएपछि शिवशङ्कर प्राथमिक विद्यालयमा बसेका छन् । घरमाथिबाट पहिरो आएपछि स्थानीयवासी त्रसित बनेका छन् । अविरल वर्षाका कारण बाढी र पहिराले वितण्डा मच्चाएको छ । खेतीयोग्य जमीन बगाएर लगेको छ भने लगाइएको खेती पहिराले पुरिएको अवस्था छ ।
ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौँको क्षति भएको छ । बाढी पसलभित्र छिरेपछि आफू भागेर बचेको र पसल पूरै बगाएको स्थानीयवासी व्याापारी गोपाल थापाले बताए ।
वर्षासँगै आएको बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल बगाएको छ । खोलाले बगाएर ल्याएका ढुङ्गामुढा पुलमा अड्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको स्थानीयवासी आशा थापाले बताए । महिनादिनको धानखेती बगरमा परिणत भएको स्थानीय रमेश थापाले बताए । पक्की पुल बगाउँदा यातायात ठप्प भएको छ ।
गएराति आएको बाढीले बूढीगङ्गा नगरपालिकामा ठूलो क्षति भएको खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।
खहरे खोलाले बगायो पुल
बाजुरा खण्डको साँफे–मार्तडी सडकअन्तर्गत जिल्लाको बूढीगङ्गा–२ ताँप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । गए राति परेको अविरल वर्षासँगै घट्टेखोलामा आएको बाढीका कारण उक्त पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर आजदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भट्टराईको भनाइ छ । पुलसँगै अमकोटमा पहिरो आएर दुई हप्तादेखि सडक अवरूद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण