मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अपडेट : ५ प्रतिशत ब्याजदरमै अब यसरी पाइन्छ ऋण (कार्यविधिसहित)

मङ्गलबार, ०६ साउन २०७७, १६ : ४९
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । पाँच प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म ऋण दिनेगरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गरेको छ । यसअघि गत जेठमा मस्यौदा सार्वजनिक गरेर सर्वसाधारणबाट सुझाव लिएको राष्ट्र बैंकले सरोकारवालाहरुको आवश्यक सुझावलाई समेत समेटेर कार्यविधिलाई पूर्णता दिएर जारी गरेको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।  

राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा रहेका छन् । साना उद्यम पुनकर्जा र साधारण पुनकर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ भने विशेष पुनकर्जा ३ प्रतिशतमै प्राप्त हुनेछ । बैंकहरुले राष्ट्र बैंकलाई भने साना उद्यम पुनकर्जा र साधारण पुनर्कर्जा ३ प्रतिशत र विशेष पुनर्कर्जा १ प्रतिशत ब्याज तिर्नुपर्नेछ । 

लघु, घरेलु तथा साना उद्यम पुनकर्जा १५ लाख रुपैंयासम्म प्राप्त हुनेछ । अन्य पुनर्कर्जाको हकमा राष्ट्र बैंकले २ प्रकारको व्यवस्था गरेको छ । जसमा बैंकहरुले एकमुष्ट रुपमा आह्वान गरेर दिन्ने कर्जाको आकार ५ करोडसम्मको हुनेछ । ग्राहक ऋणीअनुसार दिइने पुनकर्जाको सीमा २० करोडसम्मको हुनेछ । यस्तो पुनकर्जा बैंकका प्रत्येक शाखाका आवेदकले पाउनेगरी विततरण गरिने समेत कार्यविधिमा उल्लेख गरिएको छ । 

कसरी पाइन्छ पुनर्कर्जा ? 
घरेलु उद्योग, लघुउद्यम, साना तथा मझौला उद्योग सञ्चालन गरेका उद्यमीले १५ लाखसम्मको तथा व्यवसायी तथा निर्यात व्यवसाय सञ्चालन गरेका, महिला तथा अपांगहरुले सञ्चालन गरेको उद्यम र प्राकृतिक प्रकोपबाट प्रभावित उद्यमहरुलाई ५ करोडसम्मको पुनकर्जाको लागि सम्बन्धित बैंकले आवेदनको आह्वान गर्नेछ ।

त्यसरी आह्वान गरेको समयमा आवश्यक कागजातसहित पुनकर्जा प्राप्त गर्न सकिनेछ । त्यसबाहेक बैंकले बेलाबेलामा पुनकर्जा प्राप्त गर्ने क्षेत्र भनि तोकिएको क्षेत्रले समेत ५ प्रतिशतको साधारण पुनकर्जा प्राप्त गर्ने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ । यसको अवधि ६ महिनाको लागि हुनेछ । कोभिड–१९ बाट अति प्रभावितलाई भने १ वर्षसम्म त्यस्तो सुविधा प्रदान गरिनेछ । 

यस्तो कर्जा सबै बैंकका शाखाहरुबाट प्राप्त हुने भएकोले यसमा क्षेत्रीय सन्तुलन कायम समेत हुन्छ । हालसम्म बैंकको केन्द्रीय कार्यालयबाट मात्रै त्यस्तो कर्जा प्रवाह हुने भएकोले पुहँचवालाले मात्रै यस्तो कर्जाको सुविधा उपभोग गर्न पाएका थिए । अव भने ग्रामीण भेगका जनतासम्म यो पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । 

सरकारले बजेटमार्फत् घोषणा गरेको १ खर्बको पुनकर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् हालको पुनकर्जा कोषमा रहेको भएको रकमको ५ गुणासम्म पुनकर्जा प्रवाह गर्नसक्नेगरी व्यवस्था गरेको हो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कार्यविधि जारी गरिएको कार्यकारी निर्देशक ढकालले बताए । हाल सो कोषमा करिब ४३ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षमा करिब १८ अर्ब रुपैयाँ मात्रै परिचालन भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप