बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्क फ्रम होममा हुनुहुन्छ ? नेपाल टेलिकमको कल ट्रान्सफर सेवा प्रयोग गरी कार्यालयको फोन घरबाटै यसरी उठाउन सकिन्छ

मङ्गलबार, ०६ साउन २०७७, १७ : ५०
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ । 

यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले केही राहत दिनसक्छ । 

नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । 
 
यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा कल ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ । कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ । 

कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्यान्डलाइन नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु एक्टिभेसन र डि एक्टिभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही कि वर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ntc.net.npबाट प्राप्त गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप