सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भदौ १ गतेदेखि नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छः मन्त्री भट्टराई

शुक्रबार, १६ साउन २०७७, १८ : ४९
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन् । कोभिड १९ का कारण ४ महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए ।

उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् ।

जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास समेत मन्त्री भट्टराईले बताए । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् ।

यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२÷२३ वटा जहाज पार्किङस्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताए । उनले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभूति गर्न पाउने बताए ।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् । उनले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताए ।

विमानस्थलले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप