शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा निषेधाज्ञाको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल

बिहीबार, ०४ भदौ २०७७, १९ : ३२
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गरेका हुन् । उनले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन समेत आग्रह गरे । 

त्यस्तै कोभिड १९ को संक्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोही पनि व्यक्ति काठमाडौं नआइदिन समेत अनुरोध गरेका छन् । यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत उनले अनुरोध गरे ।

यसबाहेक आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिन समेत मेयर शाक्यले अपिल गरेका छन् । यस्तै कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कर्यालयमा जानकारी गराउन अथवा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पताल सम्म जानसक्ने उनले बताए । 

पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उनले बताए । कोही पनि व्यक्ति कोरोनाका कारणले मर्दैन र मर्ने स्थिति सरकारले नबनाउने प्रतिवद्धता समेत मेयर शाक्यले व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप