मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दर्जन एयरलाइन्सले फिर्ता गरेनन् यात्रुको पैसा, नेपालीको ५ अर्ब फसेको अनुमान

शुक्रबार, ०५ भदौ २०७७, १७ : ३२
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । चैतको पहिलो सातातिरको समय । चीनको ऊहानमा देखिएको कोरोनाभाइरसको संक्रमण एसिया, मध्यपूर्व, युरोप, अमेरिका हुँदै विश्वभर फैलिसकेको थियो । त्यति बेलासम्म नेपाल भने सुरक्षित नै थियो । कोरोनाको संक्रमण एकजनामा पनि नदेखिएपछि नेपाल कोरोना प्रभावित मुलुकमध्येकै एकमात्र ‘ग्रिनजोन’ मा थियो । 

नेपाल सुरक्षित रहँदा नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा भने महामारी फैलिँदै थियो । यसले गर्दा उद्योग कलकारखाना बन्द भएका थिए । कतिपयको रोजगारी पूर्ण रुपमा छुटेको थियो । कतिपयको तत्कालका लागि काम पाएका थिएनन् । काम छुट्नुको पीडा र नेपालमा देखेको सुरक्षाको कारण त्यो समयमा धेरैले नेपाल फर्किने टिकट काटे । त्योबेला नेपाल फर्किनका लागि सामान्य समयभन्दा निकै बढी टिकट लिएको बताइन्छ ।  तर, महामारी बढ्दै जाँदा एयरलाइन्स कम्पनीहरुले उडान स्थगितको घोषणा गर्न थाले ।

विभिन्न देशहरुले एयरलाइन्स सेवाको मन्दर्भमा नयाँ नयाँ नियम थप्दै गए । त्यही क्रममा चैत ९ गतेदेखि नेपालले पनि नियमित हवाई उडान स्थगित गर्दै नेपाल फर्कने सबै बाटो बन्द गरिदियो । त्यही निर्णयपछि सुरु भयो नेपालीहरु ठगिने क्रम । जहाजको टिकट लिएपछि जसरी पनि उड्न पाइन्छ भन्ने मानसिकतासहित टिकट लिएका नेपालीहरुको अर्बौं रुपैंया विदेशी विमान कम्पनीहरुको पोल्टामा फसेको छ । न त उनीहरुले उडान गर्न सक्छन्, न त पैसा फिर्ता दिन नै । 

नेपाल एशोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँ यो बीचमा नेपाली ट्राभल एजेन्टहरुले काटेको १ अर्ब रुपैंयाभन्दा बढीको उडान भएको छैन । ती सबै फिर्तायोग्य (रिफन्डेबल) पैसा हुन् ।  तर त्योबेला नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कनेको चाप धेरै भएकोले यो विदेशमा काटिएको टिकटमा योभन्दा निकै धेरै पैसा फसेको अनुमान गर्छन् । उनको अनुमान अनुसार सबै एयरलाइन्समा नेपालीको ५ अर्ब रुपैंयाको हाराहारीमा पैसा फसेको छ । खाडी मुलुकका एयरलाइन्स कम्पनी नै पैसा फिर्ता नगर्नेमा अगाडि देखिँदा यो आकार ठूलो देखिएको हो । 

पछिल्लो समय पैसा फिर्ता नगर्ने एयरलाइन्सहरुमा चर्चित कम्पनी नै अगाडि छन् । यसअघि नागरिक उड्डयन अन्तर्राष्ट्रिय नियमलाई राम्रोसँग पालना गर्दै आएका कम्पनीहरुले नै अहिले त्यस्तो व्यवहार देखाउन छाडेको ट्राभल एजेन्सीहरुले बताउन थालेका छन् । 

मलेसियन एयरलाइन्स, थाइ एयरवेज, ओमान एयर, फ्लाई दुबई, साउथ चाइना एयरलाइन्स, एयर अरेयिबा, इमिरेट्स एयर, सलाम एयर, मालिन्दो, टर्किस एयरलाइन्स लगायतका कम्पनी यात्रुको पैसा ठूलो पैसा ‘होल्ड’ गरेर बस्ने सूचीमा छन् । त्यसो त, एक वर्षअघि नै सबै जहाज ग्राउन्डेड भएर बन्दको घोषणा गरिएको जेट एयरवेजको टिकट लिने यात्रुले अहिलेसम्म पनि पैसा पाउन सकेका छैनन् ।

नेपालबाट छोटो दूरीको उडान भएकोले यसमा नेपालीको धेरै पैसा फसेको छैन । तर, पैसा फस्ने ट्रेन्डको सुरुवातचाहिँ त्यहीँबाट भएको हो । साउथ चाइना एयरलाइन्स, मलेसियन एयरलाइन्स, ओमान लगायतले पहिले निकै संयमित व्यवहार देखाउँथे, अहिले उनीहरुले पनि गति छाडेका छन् । मालिन्दो र थाई एयरलाइन्सले त अहिले यस्तो सिस्टम नै बन्द गरेर बसेका छन् । 

पैसा फिर्ता नहुनुमा दोष कसको ? 
विदेशी एयरलाइन्सका यात्रुहरुसँग एयरलाइन्स कम्पनीसँग प्रत्यक्ष सम्पर्क हुँदैन । यात्रुले टिकेटिङ एजेन्टमार्फत् टिकट काट्छन् । उडान भएन वा अरु कुनै समस्या पर्याे भने गुनासो पनि सम्बन्धित ठाउँमै गएर गर्छन् ।  
ट्राभल एजेन्ट्सहरुको पनि सम्बन्धित विमान कम्पनीसँग प्रत्यक्ष सम्पर्कचाहिँ हुँदैन । सुरक्षाका हिसाबले यो जिम्मा ट्राभल एजेन्ट्सले इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन (आयटा) ले पाएको छ । ट्राभल एजेन्ट्सले आयटाको नाममा भुक्तानी दिन्छन् । आयटाले सम्बन्धित एयरलाइन्स कम्पनीलाई त्यो रकम दिन्छ । 

आयटाले एयरलाइन्स कम्पनीलाई सबै पैसा दिइसकेको छ । तर उडान भर्न नसकेपछि एयरलाइन्स कम्पनीले पैसा फिर्ता भने गरेका छैनन् । कतिपयले त पैसा फिर्ता गर्ने सिस्टम नै बन्द गरेर राखेका छन् । यस्तो अवस्थामा यात्रुले ट्राभल एजेन्टसँग गुनासो गर्छ । ट्राभल एसेन्सीले गुनासो गर्न एयरलाइन्सले छुट्टै सिस्टम बनाएका हुन्थे, तर अहिले कतिपयले यो यो सिस्टम नै बन्द गरेका छन्, कतिपयले सिस्टम खुला राखे पनि पैसा फिर्ताको रिक्वेस्टलाई स्वीकार नै गर्दैनन् । 

नाट्टाका अध्यक्ष गुरागाइँ यसमा सबैभन्दा ठूलो दोषी एयरलाइन्स कम्पनीहरु नै भएको बताउँछन् । नाट्टाले नेपाली ट्राभल्स एजेन्सीहरुले काटेको टिकट फिर्ता गर्न एयरलाइन्स कम्पनीलाई पटकपटक पत्र पठाइसकेको उनको भनाई छ । आफूले भनेको एयरलाइन्स कम्पनीहरुले नमानेपछि नाट्टाले पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बारम्बार पैसा फिर्ता गर्ने वातावरण मिलाउन ताकेता गरिरहेको छ । क्यानले नेपालमा उडान अनुमति पाएका सबै विमान कम्पनीलाई पैसा फिर्ता गर्न पत्राचार गरेपनि अहिलेसम्म उनीहरुले पैसा फिर्ता गरेका छैनन् ।\

 ढिलो भएचाहिँ जरिवाना तिराउँछन्

अहिले महिनौंसम्म पैसा होल्ड गरेर राख्ने विमान कम्पनीहरु आफू भने एकदिन ढिला भएपनि महँगो ब्याज र जरिवानासहित तिराउने गर्छन् । लकडाउन हुनुअघि काटिएको टिकटको भुक्तानी लकडाउनमा बैंक नखुलेको कारणले समयमै दिन नसक्दा आफूले ७ सय डलरभन्दा बढी जरिवाना तिरेको अनुभव एकजना ट्राभल एजेन्ट सुनाउँछन् । त्यही कारणले त्योबेला काठमाडौंका १२० ट्राभल एजेन्सीहरु जरिवानामा परेका थिए । जरिवानामा परेका कारण उनलाई कालोसूचीमा समेत राखियो । जरिवाना तिरेपछि मात्रै त्यो खुला गरिएको थियो । 

त्योबेला सबै एजेन्सीहरुले समेत गरेर दशौं हजार डलरसम्म जरिवाना तिरेका थिए । तर अहिले आफूले सेवा दिन नसक्दा चाहिँ जरिवाना त परको कुरा, यात्रुले तिरेको पैसा फिर्ता गर भन्दा समेत एयरलाइन्सले मानिरहेका छैनन् । ‘आफूले यसरी पैसा लिएपछि महिनौंसम्म सेवा दिन नसक्नदा त्यसको क्षतिपूर्तिचाहिँ दिनु पर्दैन ?,’ ती ट्राभल एजेन्ट व्यवसायी प्रतिप्रश्न गर्छन् ।

पैसा डुब्ने खतरा

एउटा एयरलाइन्सबाट टिकट काटेर पनि उडान नभएपछि अर्को एयरलाइन्सबाट यात्रा गर्नेको संख्या धेरै छ । सरकारले उद्दार उडानको नाममा नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन थालेपछि महँगो शुल्क तिरेर आउनेहरु प्रशस्त छन् । यस्तो अवस्थामा उनीहरुको पैसा फिर्ता हुने सम्भावना निकै कम हुन्छ । 

यात्रुले आफ्नो टिकटको रिफन्ड माग गर्ने सम्बन्धित टेकेटिङ एजेन्टबाटै हो । तर, विदेशमा टिकट काटेर पैसा फसेका तर अर्को उडानबाट नेपाल आइसकेको अवस्थामा उनीहरुको फिर्ता हुने सम्भावना कम भएको हो । यात्रुले गुनासो नगरेसम्म सम्बन्धित एजेन्टलाई उडान भयो कि भएन भन्ने थाहा पनि हुँदैन । यस्तो अवस्थामा यस्तो पैसा स्थायी रुपमै एयरलाइन्सहरुमा फस्ने सम्भावना हुन्छ । 

ग्राहकको दवाव झेल्न नसक्दा केही ट्राभल एजेन्टले भने ग्राहकलाई पैसा फिर्ता गरेर पठाइदिने वा अर्को टिकट काटिदिने समेत गरेको दाबी गर्छन् । ‘टिकट काट्नेहरुले किन उडान भएन भनेर हाम्रो टेबुल ठोक्न आउँछन्, कहिलेकाहीँ त दवाव झेल्नै सकिँदैन । पैसा फिर्ता गरेर पठाउनुपर्ने अवस्था पनि आएको छ । यो हाम्रो लागि घाटा हो’ अर्का एक ट्राभल एजेन्ट कम्पनीका सञ्चालक सुनाउँछन् ।  तर, कतिपयले भने एयरलाइन्सबाट पैसा फिर्ता पाएर पनि ग्राहकलाई फिर्ता नदिएको गुनासो पनि आएका छन् । यस्तो गुनासोमाथि आफूहरुले छानविन गरिरहेको नाट्टाले जनाएको छ । 

जीएसए/पीएसएको दाबी– हाम्रोमा समस्या छैन

यात्रुको पैसा फिर्ता नगर्न कहलिएका कम्पनीका आधिकारिक टिकट बिक्री एजेन्ट (जीएसए/पीएसए) नै आफ्नो कम्पनीमा यस्तो कुनै पनि समस्या नरहेको दाबी गर्छन् ।  फ्लाई दुबई, इमिरेट्स एयर र कोरियन एयरका लागि नेपालको आधिकारिक एजेन्टको रुपमा रहेको युनिभर्सल ट्राभल्स भने आफूअन्तर्गतको एयरलाइन्स कम्पनीले त्यस्तो पैसा फिर्ता गरिरहेको र यसमा कुनै समस्या नभएको बताउँछन् ।

कम्पनीका महाप्रबन्धक रमेश लामिछानेले अरुमा समस्या भएको हुनसक्ने भन्दै आफ्नो एयरलाइन्समा समस्या नरहेको दाबी गर्छन् । जबकी फ्लाई दुबई र इमिरेट् दुबै पछिल्लो समय पैसा फिर्ता गर्न आनाकानी गर्ने एयरलाइन्समध्ये निकै अगाडि आउँछ । कोरियन एयरमा भने त्यस्तो समस्या नरहेको बताइन्छ । 

ओमान एयरको टिकेटिङ हेर्ने अमरावती ट्राभल्सका प्रबन्ध निर्देशक सुधीर राजभण्डारी भने यसरी पैसा फिर्ता नभएको अवस्था भएपनि त्यो फिर्ता नै हुँदैन कि भनेर चिन्ता भने लिनु नपर्ने दाबी गर्छन् । टिकट बिक्री भएको १ वर्षपछि पनि यस्तो दाबी गर्न सकिने व्यवस्था रहेको भन्दै कसैको पनि पैसा नडुब्ने उनको तर्क छ । 

क्यान भन्छ- ‘मन्त्रालयले हेर्छ’, मन्त्रालय भन्छ- ‘सकिँदैन’

नेपालीहरुको अर्बौं रुपैंया फस्दा पनि नेपालका उड्डयन क्षेत्रसम्बद्ध निकायहरु भने मौन छन् । यसमा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच यो विषय कसले हेर्ने भन्नेमै एकमत रहेनछ । पैसा फिर्ताबारे क्यानका प्रवक्ता राजकुमार क्षेत्री यो आफ्नो क्षेत्राधिकारको विषय नभएर मन्त्रालयको भएकोले यसबारे मन्त्रालय नै जानकार हुने बताउँछन् । तर, नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछाने भने यो विषय सबै आफूहरुले हेर्न नसक्ने बताउँछन् । 

तर नाट्टाका अध्यक्ष गुरागाइँ भने नेपालीहरुको फसेको अर्बौं रुपैंया फिर्ता गराउने जिम्मा सरकार र क्यानकै भएको बताउँछन् । ‘हामीकहाँ सिंगो मन्त्रालय छ, क्यान छ, उहाँहरुले यति पनि गर्न सक्नुहुन्न भने देशमा सरकार छ भन्ने औचित्य नै के रह्यो र ?’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप