गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने साँचो नेतृत्वको हातमा रहेको बताएका छन् ।
- उनले सभापति गगन थापाले नचाहँदासम्म पार्टी मिल्न नसक्ने धारणा राख्दै पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म लागिरहने स्पष्ट पारे ।
- खड्काले नियमित र विशेष महाधिवेशनको केन्द्रीय समितिलाई जोड्न र १५औँ महाधिवेशन निष्पक्ष हुने ग्यारेन्टी गर्न प्रस्ताव गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने साँचो नेतृत्वको हातमा रहेको बताएका छन् । बीपीको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा खड्काले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई इंगित गर्दै उनले सभापति गगन थापाले नचाहँदासम्म पार्टी मिल्न नसक्ने धारणा राखे ।
यद्यपि, आफूहरू पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म लागिरहने उनले स्पष्ट पारे । नेता खड्काले ऐतिहासिक उदाहरण दिँदै पार्टीको भविष्य निर्धारण गर्ने निर्णय लिने जिम्मेवारी नेतृत्वकै भएको उल्लेख गरे । ‘यसअघि गिरिजाप्रसाद कोइरालाले फुटेको कांग्रेसलाई मिलाउने ऐतिहासिक निर्णय गर्नुभएको थियो,’ उनले भने, ‘आज पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी तपाईंको हातमा छ । तपाईंले नचाहँदासम्म पार्टी मिल्न सक्दैन, त्यसैले एकताको निर्णय लिन म आग्रह गर्दछु ।’
पार्टी एकताका लागि नियमित (१४औँ) महाधिवेशन र विशेष महाधिवेशनका संरचनाहरूलाई जोड्नुपर्ने प्रस्ताव खड्काले अघि सारे । १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई पाखा लगाएर विशेष महाधिवेशनको समितिलाई मात्र मान्यता दिँदा कानुनी नजिरहरू भत्किएको उनको तर्क थियो ।
‘नियमित र विशेष महाधिवेशनको केन्द्रीय समितिलाई जोड्नुस्, १५ औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुने ग्यारेन्टी गर्नुस्, कांग्रेस तत्काल एक हुन्छ,’ उनले भने । आफ्नो भेटमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले मिलाउने प्रतिबद्धता जनाए पनि बाहिर भने फरक कुरा आइरहेको उनले बताए ।
आफूहरूले पदको बार्गेनिङ नगरेको स्पष्ट पार्दै नेता खड्काले युवाहरूको रक्षाकवच बनेर उभिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई अब कुनै पद चाहिएको छैन,’ उनले थपे, ‘हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौँ । तर, आफ्नो आत्मसम्मान त्यागेर समर्पण गर्न सकिँदैन, बरु त्यसका लागि मर्न तयार छौँ ।’
नेपालको राष्ट्रियता र लोकतन्त्र सङ्कटमा परेका बेला कांग्रेस एकजुट हुनुपर्ने राष्ट्रिय आवश्यकता रहेको खड्काले औँल्याए । बीपी कोइरालाले प्रतिपादन गरेको संवाद, सहमति र एकताको सिद्धान्तलाई व्यवहारमा लागू गरेर मात्र वर्तमान सङ्कट टार्न सकिने उनको बुझाइ छ । कांग्रेस एक भएमा मात्र संविधान निर्माण गर्ने सम्पूर्ण दलहरूलाई एकजुट बनाउने नेतृत्वदायी भूमिका खेल्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण