कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
सारांश
- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।
- उनले निर्वाचन आयोग र अदालतले नेतृत्वलाई वैधानिकता दिए पनि पार्टीमा फरक मत राख्ने नेता र इतिहासलाई सिध्याएर अघि बढ्न नहुने बताए।
- गच्छदारले कांग्रेसको आत्मा र भावना आफूहरूसँगै रहेको दाबी गर्दै बीपी कोइरालाको नीति र सिद्धान्तलाई आत्मसात् गरी सबैलाई मिलाएर अघि बढ्न सभापति थापालाई आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।
बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
नेता गच्छदारले निर्वाचन आयोग र अदालतले नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक मत राख्ने नेता र पार्टीको इतिहासलाई सिध्याएर अघि बढ्न नहुनेमा जोड दिए। पार्टी निर्माणका लागि ठुलो त्याग र बलिदान गरेका नेताहरू संस्थापन इतर पक्षसँग रहेको दाबी गर्दै उनले कांग्रेसको आत्मा र भावना आफूहरूसँगै रहेकाले यसलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।
‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ। कांग्रेसको भावना र आत्मा यहाँ छ,’ नेता गच्छदारले भने, ‘सभापति गगन थापाज्यू, कांग्रेसमा ठुलो त्याग र बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन्।’
सभापति थापालाई सम्बोधन गर्दै उनले थपे, ‘तपाईँ विशेष अधिवेशनबाट सभापति बनिसक्नुभयो। वैधानिक रूपले तपाईँलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको छ। तपाईँ बलियो सभापति हुनुभयो। तर यति धेरै बलियो सभापति भएर तपाईँसँग असहमति भएका कांग्रेसलाई सिध्याएर सभापति बन्न सुहाउँछ?’
संस्थापन पक्षलाई समयको महत्त्व दर्साउँदै गच्छदारले भने, ‘त्यसैले सभापतिलाई मेरो सन्देश छ, समय कसैका लागि पर्खिँदैन। तपाईँका लागि निकै राम्रो समय आएको छ।’
बीपी कोइरालाको नीतिको स्मरण गराउँदै उनले अगाडि भने, ‘सभापति भएर तपाईँ बीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबैलाई मिलाएर जानुस्। पार्टीको असहमत पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन सम्पन्न गर्न सफलता हासिल गर्नुस्, मेरो शुभकामना छ।’
उनले बीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न संस्थापन पक्षलाई पुनः आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण