बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्युनिशियामा स्वास्थ्य मापदण्ड नमाने ६ महिना जेल र जरिवाना, माल्दिभ्सका पूर्व राष्ट्रपति संक्रमित

बिहीबार, ११ भदौ २०७७, ०७ : ०८
बिहीबार, ११ भदौ २०७७

संसारभरी हालसम्म कोरोनाभारइसका २ करोड ४२ लाख ४२ हजार ९ सय ८१ संक्रमित फेला परिसकेका छन् । यीमध्ये १ करोड ६७ लाख ३५ हजार १ सय ६२ बिरामी ठिक भइसकेका छन् भने ८ लाख २७ हजार ६० को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्सको आँकडा अनुसार हो ।

यसैबीच ट्युनिशियामा कोरोना संक्रमितको संख्या बढेका कारण स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डलाई कडा रुपमा पालना गर्ने निर्णय गरेको हो । ट्युनिशिया अफ्रिकी प्रेसका अनुसार सार्वजनिक स्थानमा मास्क नलगाउँदा अब जरिवाना लाग्नेछ ।

कार्यकारी स्वास्थ्यमन्त्री मोहम्मद हबीब क्याचोले बुधबार मास्क लगाउन अब अनिवार्य भएको बताए । आदेश नमान्नेहरुलाई १२० देखि ५ हजार ट्युनिश दिनार (५ हजार रुपैयाँदेखि २ लाख १६ हजार सम्म ) को जरिवाना र ६ महिनासम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, माल्दिभ्सका पूर्व राष्ट्रपति मौमून अब्दुल गयूम संक्रमित भेटिएका छन् । उनले ट्वीट गरेर यसको जानकारी दिएका हुन् । मौमून ३० वर्षसम्म माल्दिभ्सका राष्ट्रपति रहेका थिए । स्वास्थ्य अधिकारीले यसै हप्ता राजधानी मालेमा संक्रमण फैलने सक्ने भन्दै चेतावनी दिएका थिए । यहाँ अगस्ट महिनामा मात्रै सयभन्दा बढी संक्रमित भेटिएका छन् । देशमा हालसम्म ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने २८ जनाको मृत्यु भएको छ ।

यसैबीच मेक्सिकोका उप स्वास्थ्यमन्त्री ह्यूगो लोपेजले बुधकार देशमा महामारी फैलिएपछि १३ सयभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जानकारी दिएका छन् । २४ घण्टामा देशमा ४ हजार ९ सय १६ संक्रमित देखिएका छन् भने ६ सय ५० को मृत्यु भएको छ । यसका साथै देशमा संक्रमितको आँकडा ५ लाख ६८ हजार ६ सय २१ पुगेको छ । यहाँ हालसम्म ६१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकाः २४ राज्यका कलेजमा संक्रमित भेटिए

अमेरिकामा स्कूल र कलेज खोलिएपछि हालसम्म देशका २४ राज्यका कलेजमा संक्रमित भेटिएका छन् । संक्रमित हुनेमा ३३ सय विद्यार्थी र कर्मचारी समावेश छन् । मिसिसिपी राज्यमा करिब ४ हजार विद्यार्थी र ६ सय शिक्षकलाई क्वारेन्टिनमा राखिएको छ । यहाँ १७ देखि २१ अगस्टबीच स्कूलमा पढाउने १ सय ४४ शिक्षक र २ सय ९२ विद्यार्थी संक्रमित भेटिएका छन् । राज्यका स्वास्थ्य अधिकारी डा. थोमस ई डब्सले ३१ स्कूलमा संक्रमित भेटिएका छन् । यसलाई ध्यानमा राख्दै स्कूलमा पढाउने बच्चा र यहाँ काम गर्ने कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

ब्राजिलः राष्ट्रपति जायर बोल्सोनारोका छोरा संक्रमित

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका छोरा र सांसद फ्लेवियो बोल्सोनारो संक्रमित भेटिएका छन् । उनका प्रेस अधिकारीले मंगलबार दिएको जानकारी अनुसार हाल उनमा कुनै लक्षण देखिएको छैन  र उनी आफ्नो घरबाट नै काम गर्नेछन् । देशका स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ४७ हजार १ सय ३४ संक्रमित भेटिएका छन् र १२ सय ७१ को मृत्यु भएको छ । यससँगै देशमा संक्रमितको आँकडा ३६ लाख ६९ हजार ९ सय ९५ पुगेको छ । यहाँ हालसम्म १ लाख १६ हजार ५ सय ८० को ज्यान गएको छ ।

अर्जेन्टिनाः लगातार दोस्रो दिन ८ हजारभन्दा बढी संक्रमित

अर्जेन्टिनामा मंगलबार ८ हजार ७ सय ७१ संक्रमित भेटिएका छन् । यो हालसम्म देखिएको सर्वाधिक संख्या हो । यसअघि सोमबार यहाँ ८ हजार ७ सय १३ पोजेटिभ केस भेटिएका थिए । पछिल्लो २४ घण्टामा यहाँ १ सय ९७ को मृत्यु भएको छ । यसका साथै देशमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय ३८ पुगेको छ । यहाँ हालसम्म ७ हजार ५ सय ६३ को ज्यान गएको छ ।

इराकः संक्रमितको आँकडा २ लाख पार

इराकमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६२ नयाँ संक्रमित थपिएका छन् भने ७७ जनाको मृत्यु भएको छ । देशमा अब संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ४७ रहेको छ । ६ हजार ५ सय ९६ को ज्यान गएको छ । इराकका स्वास्थ्यमन्त्री हसन अल तमिमीले इराक भ्याक्सिन तयार गर्ने कुनै पनि देशसँग मिलेर काम गर्न तयार भएको बताएका छन् । देशमा ५० वर्षभन्दा माथिका मानिसहरुलाई भ्याक्सिनमा प्राथमिकता दिइनेछ । सरकार मानिसहरुको सुरक्षाका लागि भ्याक्सिन खरिद गर्न पनि तयार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप