इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो । यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो । गन्तव्य स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम पनि भइरहेको नगर प्रमुख गिरीले बताए ।
यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको उनले बताए । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण