शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन र निषेधाज्ञामा सहकारी, घरमै पुगेर दिन्छन् नगद

शुक्रबार, १९ भदौ २०७७, ०९ : २९
शुक्रबार, १९ भदौ २०७७

कोभिड–१९ का कारण सङ्क्रमणबाट बच्न निषेधाज्ञा जारी छ । बैङ्क तथा वित्तीय संस्थामा सीमित शाखा खोलेर सीमित कर्मचारीबाट सेवा दिइरहेका छन् । अहिले बैङ्कमा वचत गर्नेहरु बैङ्कसम्म बचत फिर्ता लिन पुग्नुपर्ने अवस्था त त्यो नभए पनि एटीएमसम्म नगद लिन जानुपर्ने अवस्था छ ।

तर सहकारीले भने  बचतकर्ता बसेकै ठाउँमा उनीहरुको माग अनुसारको रकम पुर्याइरहेका छन् । सहकारीमा रकम बचत गर्ने ग्राहकको घरखर्च टार्न, बैङ्कको किस्ता तिर्न, ऋणको ब्याज तिर्न सहकारीहरुले घरमै रकम पुर्याइरहेका छन् । सहकारी संस्थासम्म ग्राहक आउन असहज भएपछि उनीहरुको माग बमोजिम नै सहकारीले घरघरमै रकम पुर्याउन थालेका हुन् ।

चैत ११ गतेदेखि भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण संस्थासम्म आउन नसक्ने ग्राहकलाई मागअनुसारको रकम सहकारीले घरमै पुर्याइरहेको सहकारीहरुले बताएका छन् ।

पञ्चशील सहकारीले चैत १७ गतेदेखि ग्राहकको घरमै नगद पुर्याउँदै आएको छ । चैत ११ गतेदेखि लकडाउन भए पनि १६ गतेसम्म सेवा दिन अप्ठ्यारो भएपछि स्थानीय प्रशासनसँगको समन्वयमा चैत १७ गतेदेखि घरघरै रकम पुर्याउन थालेको हो । पञ्चशील सहकारीले अहिले पनि घरमै पैसा पुर्याउने गरेको छ । सहकारीका अध्यक्ष राजु खतिवडाले ग्राहकले  घरमा, अस्पतालमा चोकमा जहाँ भन्छन् त्यही रकम पुर्याउने गरेको बताए । उनले भने, ‘चैत ११ मा केही समय समस्या भए पनि पछि स्थानीय प्रशासनसँग समन्वय गरेपछि सहज भयो ।  निषेधाज्ञाको सुरुवाती दिनमा पनि त्यस्तै असहज भयो, अहिले सहज छ । ग्राहकले जति रकम जहाँ ल्याइदिनु भन्यो त्यही पुर्याइरहेका छौँ ।’

पञ्चशीलले कुमारीपाटीमा कार्यालय खोलेर हरेक दिन ३ घण्टा सेवा दिइरहेको छ । पञ्चशीलले दैनिक २० जनाभन्दा बढी ग्राहकलाई भुक्तानी दिइरहेको छ ।

यता पेप्सीकोलामा रहेको पाँचतारा सहकारीले पनि ग्राहक भएकै ठाउँमा रकम पुर्याइरहेको छ । पाँच ताराका अध्यक्ष भोलानाथ पाठकले लकडाउन यता ग्राहकले चाहेकै ठाउँमा रकम पुर्याएको बताए । यद्यपि लकडाउनमा पूर्ण सेवा दिएको पाँचताराले निषेधाज्ञामा भने कार्यालय बन्द गर्यो । तेस्रो पटकको निषेधाज्ञा थप भएपछि आजबाट (भदौ १८) भने कार्यालय खोलेर सेवा दिइरहेको छ । तथापि कार्यालय बन्द भए पनि मागअनुसारको सेवा दिन भने नछोडेको पाठकले बताए ।

यस्तै जडीबुटीको त्रिदेव बचत तथा ऋण सहकारीले पनि ग्राहकको माग बमोजिम घरघरै  रकम पठाइरहेको छ । त्रिदेवका व्यवस्थापक कमल श्रेष्ठले मागअनुसारको रकम पुर्याइरहेको बताए ।

अहिले अधिकांश बैङ्कका शाखा बन्द छन् जसले आफूले भनेको समयमा रकम झिक्न पाएका छैनन् । थोरै थोरै गरेर सहकारीमा जम्मा गरेको रकम औषधि, खाद्यान्न लगायतको आवश्यकता पूरा गर्न  संस्थाले नै घरमा पुर्याउने सेवा दिएको छ ।

प्रायजसो सहकारीले ग्राहकलाई पायक पर्ने स्थानमा नगद लगिरहेका छन् । सामान्य अवस्थामा नगद सङ्कलन गर्न घरघरमा जाने सहकारी अप्ठ्यारो अवस्थामा घरघरमै नगद पुर्याइरहेका छन् ।

हाल ३४ हजारभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा छन् । एक दुई सहकारीले ग्राहकको निक्षेप फिर्ता गर्न नसक्दा कतिपय सहकारीहरु उनीहरुकै कारण बदनाम बन्न पुगेका छन् । यद्यपि पछिल्लो समय सहकारीहरुले बचतकर्ताको विश्वास जित्दै गएका छन् । बचतकर्तालाई अप्ठेरो पर्दा सहकारीले घरमै रकम पुर्याउँदा रहेछन् भनेर अझै विश्वसनीयता बढ्ने विज्ञहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप