मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा जनआन्दोलनका लागि तयार रहन अपिल

आइतबार, ०४ असोज २०७७, १३ : ०८
आइतबार, ०४ असोज २०७७

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले वर्तमान सरकारको गैरजिम्मेवारीपन विरुद्ध आन्दोलनको विकल्प नरहेको भन्दै जनआन्दोलनका लागि हर तरहले तयार रहन नेपाली जनतालाई आग्रह गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले जनताको आवाजलाई लगातार उपेक्षा गर्दै आएको आरोप लगाएका हुन् । 


‘संसदमा भएको कथित दुई तिहाईको दम्भ प्रदर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन । त्यसैले, इतिहासका निर्माता नेपाली जनतासँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं ।’

सामान्य मागहरुलाई लिएर सडकमा उभिएका जनतामाथि प्रहरीले लाठी बजारेको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने अनुभूति दिलाएको पनि मोर्चाले उल्लेख गरेको छ । ‘विश्वका झण्डै २०० भन्दा बढी देशमा महामारीका रुपमा फैलिएको महाव्याधी कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, विरामी आफैंले गर्नु पर्ने भन्ने निर्लज्ज र चरम गैर जिम्मेवार फरमान् जारी गर्दैछ, यो सरकार,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदमा पारित हुनबाट जोगिएको एमसीसी सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसदको आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिँदैछ । जनसंघर्षको दवाबबाट नेपालको नक्शा सार्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक माथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ, तर सरकार तमासे बनेर हेरिरहेको छ । कालापानीमा भारतीय सेना परेड खेलिनै रहेका छन् ।’

साठी लाखभन्दा बढी युवा बेरोजगार हुने अनुमान गरिएकै अवस्थामा रोजगारीको कुनै ठोस योजना नबनाइएको, राज्यको ढुकुटी भ्रष्टाचार र कमिशनबाट रित्तिने अवस्थातिर गइरहेको मोर्चाको जिकिर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप