मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रविधि चोरेर पाकिस्तानले मिसाइल बनाएको नवाज सरिफको खुलासा

आइतबार, १८ असोज २०७७, १५ : ५८
आइतबार, १८ असोज २०७७

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले सरिफ भारत निकट रहेको प्रचारवाजी गरिरहेका छन् । 

यही वाकयुद्धका दौरान सरिफले नयाँ खुलासा गरेका छन् । उनले अमेरिकी प्रविधि चोरेर आफुले पाकिस्तानी सेनालाई सुदृढ बनाएको दाबी गरेका हुन् । उपचारका क्रममा लण्डनमा रहेका पूर्वप्रधानमन्त्री सरिफले देशका लागि ज्यान गुमाउने सहिदहरुप्रति आफुलाई सधैं गर्व महसुस हुने बताए । उनले पाकिस्तानी सेनाको सुदृढीकरणका लागि आफुले धेरै काम गरेको दाबी गरे । ‘देशमा अहिले जति पनि मिसाइल्स छ, त्यसमध्ये आधा मिसाइल्स मैले तयार गरेको हुँ,’ उनले भने,‘ पाकिस्तानसँग अहिले जो टोमाहक मिसाइल्स छ, त्यो मेरै कार्यकालमा तयार भएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पास्कितानमाथि मिसाइल हमला गरेका थिए र यस दौरान नपड्किएको एउटा मिसाइल हामीले फेला पार्यौं । सेनाले त्यो मिसाइललाई उठाएर पाकिस्तान ल्यायो । त्यसको इन्जिनियरिङ भयो र हामीले अहिलेको मिसाइल तयार गर्यौं ।’

उनले भने, ‘पाकिस्तानीहरुको दिमाग सानो छैन । हामीलाई गर्व छ कि हामीले यो मिसाइल्स तयार ग¥यौं ।’ नवाज सरिफ १९९३ मा पहिलोपटक पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए । उनले १९९३ सम्म पहिलो कार्यकाल चलाए । त्यसपछि १९९७ मा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भए, तर १२ अक्टुबर १९९९ मा सरिफलाई ‘कू’ गरेर पाकिस्तानी सेनाप्रमुख जनरल परवेज मुसर्रफले शासनसत्ता हातमा लिए । २०१३ मा उनी फेरि प्रधानमन्त्री चुनिए । तर, यसपटक पनि पूर्ण कार्यकाल चलाउन पाउनन् । २०१७ मा भ्रष्टाचार मुद्दामा दोषी भेटिएपछि उनले बाध्य भएर राजिनामा दिनुपर्यो ।

२०१८ मा उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नपाउने फैसला पाकिस्तानको सर्वोच्च अदालतले सुनायो । उनीविरुद्ध १० वर्षको जेल सजाय पनि सुनाइएको थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि पाकिस्तानको अदालतले गत वर्ष नोभेम्बरमा उनलाई ४ हप्ताका लागि उपचारका लागि विदेश जाने अनुमति दियो । उपचारका लागि लण्डन गएका सरिफ त्यसयता फर्किएका छैनन् । उनले लण्डनमै बसेर प्रधानमन्त्री इमरान खानको विरोध गरिरहेका छन् । यता, अदालतले उनलाई भगौडाको सूचीमा राखिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप