शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीका नेता–कार्यकर्ता भन्छन्, ‘केन्द्रमा विवाद भएपनि हामी एक जुट छौँ’

‘व्यक्तिगत स्वार्थको झगडा केही समयपछि आफै शान्त हुन्छ’
शुक्रबार, २१ कात्तिक २०७७, १३ : १६
शुक्रबार, २१ कात्तिक २०७७

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्वले सिंगो पार्टीपंक्तिमा नै तरंग ल्याएको छ । पछिल्लो विवादले पार्टी नै फुट्न सक्ने टिप्पणी भइरहेका छन् ।

केन्द्रमा बेलाबेला चर्किरहने आन्तरिक द्वन्द्वले जिल्ला तहका नेता कार्यकर्ता वाक्क छन् । व्यक्तिगत स्वार्थलाई बीचमा ल्याएर पार्टी एकता भङ्ग गर्न नहुने मत कार्यकर्तापंक्तिमा छ । कास्कीमा पूर्वमाओवादी होस् या पूर्वएमाले, दुवै खेमाका नेता तथा कार्यकर्ताले पार्टी विभाजन गर्न नहुने मत राखेका छन् ।

नेकपा कास्कीका सदस्य राम थापाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउँछन् । उनले भने, ‘पार्टी एकतालाई हामीले पूर्णता दिनुपर्छ । जुन नेकपालाई नेपाली जनताले समृद्ध नेपाल, सुखी नेपालीको लागि मतदान गर्नुभयो, सबैभन्दा ठूलो पार्टी बनाउनु भयो । उहाँहरुको आशालाई नेकपाले पूरा गर्न सक्छ भनेर मतदान गर्नु भयो । उहाँहरुको भावना र मतलाई उच्च कदर गर्दै पार्टी एकतालाई निष्कर्षमा पु¥याउनैपर्छ ।’

पार्टी अध्यक्षद्वयले जुनकुनै हालतमा पनि पार्टी एकता टुङ्गामो पु¥याउनुपर्नेमा उनले जोड दिए । जिल्ला तहमा कार्यकताहरु एक ढिक्का रहेको उनले सुनाए । व्यक्तिगत स्वार्थलाई लिएर सिंगो पार्टीपंक्ति नै अलग हुन नहुने उनको मत छ । थापा पूर्वमाओवादीबाट प्रतिनिधित्व गर्छन् ।

यता, नगर कमिटी सदस्य बिष्णु पुन पार्टीको विवाद कुनै सिद्धान्त, विचार, एजेन्डामाथि नभइ व्यक्तिगत स्वार्थको लागि भएको बताउछन् । विवाद केही समयपछि आफै टुङ्गिएर जाने उनको निष्कर्ष छ । ‘अहिलेको विवाद भनेको आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएको कारण भएको विवाद हो । केही समयपछि यो आफै टुङ्गिएर जान्छ,’ उनले भने ।

जतिसुकै विवाद चर्किए पनि पार्टी एकढिक्का भएर अघि बढ्ने उनको विश्वास छ  .। पार्टी विभाजनदेखि आन्दोलनसमेत पार गर्दै आएका नेताहरु पनि भएका कारण पार्टी नफुट्ने उनको जिकिर छ । ‘विभिन्न आन्दोलनदेखि हन्डर, ठक्कर खाएर आएका नेताहरु हुनुहुन्छ । फुट्यौँ भने आफ्नो हैसियत के हुन्छ भन्ने सबैले बुझ्नु भएको छ,’ उनले भने, ‘त्यस भएको हुनाले यति सजिलो हिसाबले यो पार्टी फुट्छ जस्तो मलाई लाग्दैन ।’

विवाद पार्टीमा हुने र समाधान पनि हुँदै जाने उनको धारणा छ । एक बिन्दुसम्म पुगेर लेनदेन मिलेपछि विवाद साम्य हुने उनले जिकिर गरे ।

प्रदेश इन्चार्जसमेत रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटे, प्रचण्डकै कारण फुट्ने आशयको अन्तर्वार्ता सार्वजनिक भएपछि कास्कीमा मात्रै होइन,  देशव्यापी रुपमा तरंग नै आएको थियो ।

अर्थ तथा विकास समितिका सभापति तथा गण्डकी प्रदेशका सभापति समेत रहेका दीपक कोइराला, नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ लगायतका नेताहरुले सार्वजनिक रुपमै उक्त अभिव्यक्तिको विरोध गरेका थिए ।  पार्टीभित्रको महत्त्वपूर्ण विषयमा हलुका अभिव्यक्ति नदिन सामाजिक सञ्जालबाटै सुझाएका थिए ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टी अघि बढ्नुपर्ने बताउँछन् । कास्कीका अन्य नेताहरुको पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी अघि बढ्नुपर्ने मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप