शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कसले तिर्‍यो विद्यासुन्दर शाक्यको होटल सोल्टीमा बसेको १५ लाख बिल ?

शुक्रबार, २१ कात्तिक २०७७, १३ : २३
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । आफू कोरोना संक्रमित भएका बेला सबैभन्दा महंगो आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको बिल कस्ले तिर्‍यो ? काठमाडौंको होटल सोल्टीमा दिनको ७५ हजारभन्दा बढी खर्च गरेका शाक्यले आफ्नो उपचार खर्चको भूक्तानीका लागि महानगरपालिकामा हालसम्म बिल पेश गरेका छैनन् । उनले उपचार खर्च भुक्तानीका लागि बिल पेस नगरेको महानगर स्रोतले रातोपाटीलाई जानकारी दियो । 

गत भदौं १५ गते कोरोना संक्रमित भएपछि मेयर शाक्यसँगै उनकी श्रीमती र छोरी पनि सँगै आइसोलेसनमा बसेका थिए । महानगर स्रोतका अनुसार सोल्टी होटलमा ३ जना बसेको झन्डै १५ लाख हाराहारी खर्च भएको थियो । उनले उपचारका लागि निजी क्षेत्रका सबैभन्दा महंगो मध्ये पर्ने ग्रान्डी र मेडासिटी अस्पतालबाट डाक्टर नर्सलाई होटलमै बोलाउने गरेका थिए । 

महानगरपालिकाका जनप्रतिनिधिको बिरामी तथा औषधी उपचार खर्चको भुक्तानीको लागि महानगरको बोर्ड बैठकमा बिल पेश गर्ने ब्यवस्था छ । तर मेयर शाक्यले हालसम्म बोर्ड बैठकमा त्यसबारे कुरा नउठाएको स्रोतको भनाई छ  । विरोध धेरै भएपछि उनी आफैले सो रकम तिरे वा अरु कसैले तिरिदियो त्यसबारे थाहा नभएको महानगरका एक कर्मचारीले बताए । 

यसबारे जिज्ञासा राख्न खोज्दा मेयर शाक्यको फोनमा सम्पर्क हुन सकेन् ।  सर्वसाधारण आइसोलेसनको सामान्य बेड नपाई भौतारिरहेको बेला मेयर शाक्य भने गोप्यरुपमा होटल सोल्टीको आइसोलेसनमा बसेको भन्दै चौतर्फी आलोचना भएको थियो । गत भदौं ३ गते एकसाता भित्र काठमाडौंमा ५ हजार क्षमताको आइसोलेसन तयार पार्ने घोषणा गरेका मेयर शाक्यले अहिलेसम्म आइसोलेसन तयार पार्न सकेका छैनन् । काठमाडौंको खुल्लामञ्चमा कोरोना संकटका कारण कामबिहिन मजदुर तथा असक्तलाई निःशूल्क खाना खुवाउँदा महानगरको बेइज्जत भएको भन्दै रोक्न खोजेपछि उनको आलोचना भएको थियो । 

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप