शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवस्थाविरोधी प्रदर्शन : काँग्रेसमा कोही चिन्तित, कोही उत्साहित !

आइतबार, १४ मङ्सिर २०७७, १५ : ०६
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्षपछि राजतन्त्र पक्षधरको ठूलो सङ्ख्यामा सडकमा उपस्थिति देखिएको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ३८ वर्ष लामो शाहवंश राज संस्थालाई किनारा लगाएको थियो ।

दसैँको पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अवसरमा जारी शुभकामना सन्देशमा राजनीतिक दल र अहिलेको नेतृत्वमाथि कटाक्ष गरी नेपाली जनता ‘टुहुरा’ बनेको उल्लेख गरेका थिए । संकटमा नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध भएको भन्दै आज सबैले आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेको पूर्वराजा शाहको शुभकाना सन्देशमा उल्लेख थियो ।

पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।अहिले काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको छ ।

राजावादी संस्था ‘वीर गोर्खाली अभियान’ले बुटवलमा कात्तिक १७ मा मोटरसाइकल -याली निकालेको थियो । त्यसपछि कात्तिक २५ गते राजधानी काठमाडौँको जमलमा ‘राष्ट्रवादी नागरिक समाज’ को नाममा राजतन्त्रका पक्षमा प्रदर्शन भएको थियो भने कात्तिक २७ गते मोरङको विराटनगरमा राजावादी समूहहरूको त्यस्तै जुलुस प्रदर्शन भएको थियो । यस्तै १० मंसिरमा पोखरामा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ र जनकपुरमा ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानरमा राजतन्त्रको पक्षमा सडक प्रदर्शन भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर अंकित टि–सर्ट लगाएर र राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजीलाई मुख्य माग बनाएका थिए ।

जनकपुर र पोखराकै जस्ता नारा र मागसहित गत मंसिर ४ मा ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ को ब्यानरमा कैलालीको धनगढीमा मोटरसाइकल ¥यालीसहित ठूलो प्रदर्शन भएको थियो । ‘वीर गोर्खाली र स्वतन्त्र राष्ट्रवादी अभियान’ को ब्यानर धनगढीको प्रदर्शनको एक साताअघि बर्दियामा उस्तै प्रकृतिको मोटरसाइकल -याली भएको थियो ।

काठमाडौँ र मुलुकका पूर्वी भेगमा प्रदर्शन जारी छ  ‘राष्ट्रिय शक्ति’ समूहले आउँदो १५ गते र ‘नेपालका लागि नेपाली’ नामको समूहले पनि २० गते राजधानीमा प्रदर्शन घोषणा गरिएको छ । यस्तै राप्रपा झापाले मङ्सिर २० मा झापामा पनि वृहत् -यालीको घोषणा गरेको छ ।

‘डेलिभरी छैन । कहीँ कतै केही पनि भएको छैन । हुँदै नभएको कुराले राम्रो गर्छ कि भन्ने उनीहरुमा आशा जगाउँछ । यही अवस्था हामीले ०५९ सालमा राजाले शासन सत्ता हातमा लिँदा पनि देखेको हो,’ थापाले भने, ‘दलहरुसँग जनता निराश थिए । मानिसहरुले राजाले पो केही गर्ला कि भनेर साथ दिए । राजाले झन् डेलिभरी गर्ने नसक्ने रहेछ भनेर ६ महिनामै राजाको साथबाट टाढिएका थिए । यो ठूलो जमात फेरि जोडिन खोजेको छ ।’

प्रदर्शनबारे गगनको नजर

यसलाई नेपाली काँग्रेसका नेता गगन थापाले तीन थरीका मान्छेको जमातको प्रदर्शनका रुपमा ब्याख्य गरे । उनले भने, ‘यो प्रदर्शनमा मैले तीन थरीको मानिस देखेको छु । एउटा भनेको जो ०६०/०६१ मा राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिँदा मद्दत गरेको, त्यसको पक्षमा रहेको र लाभ प्राप्त गरेको मान्छेको जमात छ । जसले ०६२/०६३ को आन्दोलन, त्यो आन्दोलनको उपलब्धिसँग असहमत थियो, छ र रहिराख्छ । कोही पार्टीमा आबद्ध छन्, कोही स्वतन्त्र छन् । जो नयाँ मान्छे होइनन् । जो त्यो बेलामा परास्त भएका थिए ।’

राजसंस्थाप्रति विश्वास र वर्तमान व्यवस्थताका कतिपय प्रबन्धमा असहमति जनाउने जमात दोस्रो समूहका रुपमा प्रर्दशनमा जोडिएको थापाको बुझाइ छ । ‘दोस्रो समूह भनेका त्यो ०६२/०६३ आन्दोलनसँग सहमत थियो, छ पनि । तर नेपाल राजसंस्था हुँदै गर्दा नेपालको हित गर्छ भन्ने ठान्दछ । जो कुनै राजनीतिक दलसँग सम्बन्ध र सहभागिता केही पनि छैन । राजसंस्थासँग उसको विश्वास छ । त्यो विश्वास राख्ने जमात र समूह छ ।’

थापाका अनुसार दोस्रो समूह नेपाली काँग्रेसभित्र पनि छ । ‘यो राजनीतिक परिवर्तनपछि पनि  आफ्नो एउटा विचार वा विश्वास राजसंस्था, धर्मनिरपेक्षता, संघीयता लगायतका प्रबन्ध गलत थिए, गलत हुन् भन्ने आवाज कही न कही पार्टीभित्र उठिनै रहन्थ्यो ।  यो नयाँ होइन, पहिलेदेखिनै थियो,’ उनको भनाइ छ ।

थापाका अनुसार यसपालि सबैभन्दा बढी ध्यान दिनुपर्ने तेस्रो समूह जोडिएको छ । यो दुई वटा समूहमा सिमित सङ्ख्या थियो । बेला बेलामा कुराकानी गथ्र्यो । तर यसरी सडकमा आउने समर्थन थिएन । अहिले यी दुई वटा समूहमा तेस्रो समूह खासगरी युवा जमात थपिएपछि प्रदर्शनको रुप लिएको थापाको बुझाइ छ ।

थापाका अनुसार राज्य व्यवस्थाभित्र भएका एक्टर (नेपाली काँग्रेस, नेकपा, सरकार, प्रतिपक्षी)हरुसँग उनीहरु चरम निराशा आक्रोशका रुपमा सडकमा पोखिएको देखिन्छ ।

‘डेलिभरी छैन । कहीँ कतै केही पनि भएको छैन । हुँदै नभएको कुराले राम्रो गर्छ कि भन्ने उनीहरुमा आशा जगाउँछ । यही अवस्था हामीले ०५९ सालमा राजाले शासन सत्ता हातमा लिँदा पनि देखेको हो,’ थापाले भने, ‘दलहरुसँग जनता निराश थिए । मानिसहरुले राजाले पो केही गर्ला कि भनेर साथ दिए । राजाले झन् डेलिभरी गर्ने नसक्ने रहेछ भनेर ६ महिनामै राजाको साथबाट टाढिएका थिए । यो ठूलो जमात फेरि जोडिन खोजेको छ ।’

थापाको बुझाइमा केपी ओलीको सरकारले कोभिड–क्राइसिसको बेलामा ठीक ठाक ढंगले काम गरिरहेको भए यो तेस्रो समूह यी दुई वटा समूहसँग मिसिएर सडकमा निस्किने थिएन । तेस्रो समूह सडकमा ननिस्किएको भए यो ताकत नै बन्दैन थियो ।

‘मैलेअघि भनेको पहिलो समूहले यसको धन्दा गर्ने नै भयो । दोस्रो मान्छेको विश्वासको कुरा भयो । तर राष्ट्रपतिको संस्थाले मर्यादित भएर काम गरिरहेको भए, प्रधानमन्त्रीले डेलिभरी गर्न सकिरहेको भए र प्रतिपक्षीले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको भए तेस्रो जमात सडकमा जाने अवस्था हुने थिएन ।’

‘म सरकारलाई मात्र भन्दिनँ । म प्रतिपक्षी आफै पनि कुरा गर्छु । सरकारका नराम्रा कामको प्रतिरोध गर्ने ताकत राखेर हामीहरु (प्रमुख प्रतिपक्षी दल) सदन र सडकमा जिम्मेवारीका साथ आफ्ना काम गरिरहेको भए उनीहरुको आक्रोशलाई आवाज दिने काम हामीले गरिरन्थ्यौँ । हामी सडकमा देखिन्थ्यौँ । त्यसले एउटा माहोल बनाइहाल्थ्यो । त्यो बेलामा यो खालको मानिसको उपस्थिति रहदैन थियो,’ विपक्षी काँग्रेस सांसद थापाले अनुभूति प्रकट गरे ।

कतिपय कुरा सांगठनिक रुपमा सामाजिक सञ्जालमा राजाको शासन काला स्वर्ण काला थियो र अहिले बिग्रियो भन्ने ढंगबाट प्रस्तुत गर्न खोजिएको उनले बताए ।

थापाले भने, ‘मैलेअघि भनेको पहिलो समूहले यसको धन्दा गर्ने नै भयो । दोस्रो मान्छेको विश्वासको कुरा भयो । तर राष्ट्रपतिको संस्थाले मर्यादित भएर काम गरिरहेको भए, प्रधानमन्त्रीले डेलिभरी गर्न सकिरहेको भए र प्रतिपक्षीले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको भए तेस्रो जमात सडकमा जाने अवस्था हुने थिएन ।’

व्यवस्था विरोधी आन्दोलन चिन्ताजनक

अहिले एकाएक व्यवस्था बदल्छु भनेर मान्छे सडकमा आउनुका पछाडि शासकका कारण थपिएको चरम निराशा रहेको थापाको दाबी छ । ‘यो एकदमै चिन्ताजनक विषय हो । यसलाई चिन्ता र सरोकारको विषय नबनाउने हो भने लोकतन्त्रमा जनताको आवाजलाई वास्ता गरिँदैन भन्ने ठाउँमा पुगिन्छ । चिन्ता पनि गर्ने र त्यसको उपायका रुपमा आफूलाई ठीक ठाउँमा राख्नुपर्ने देख्छु । म नेपाली काँग्रेसको सदस्य यो प्रदर्शनबाट चिन्तित छु । यसले ध्यानाकृष्ट गरेको छ, तर अतालिएको छैन,’ थापाले भने ।

यसलाई दुकार्ने वा अनावश्यक टिप्पणी गरेर बसिराख्ने भन्दा यो व्यवस्थाको पक्षमा काम गरिरहेका मान्छेले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा थापाको जोड छ ।

‘अहिले जुन आन्दोलन गर्न खोजिराखिएको छ । त्यसलाई निस्तेज गर्ने भनेको जो जो जहाँ छौँ आफ्नो जिम्मेवारी निर्वाह गर्दा आफै निस्तेज भएर जान्छ,’ व्यवस्ता विरोधी आन्दोलनलाई निस्तेज पार्ने उपय सुझाउँदै उनले भने, ‘धार हात लगाएर गाली गरेर हाम्रो ड्युटी पुरा गरेनौँ भने पहिलो र दोस्रो समूहमा तेस्रो समूहका मान्छे थपिँदै जान्छन् । अन्ततः वर्तमान व्यवस्थालाई भारी पर्दै जान्छ ।’

आफ्नो भूमिका ठीक बनाए आफै ठीक हुने उनको भनाइ छ । ‘अब हाम्रो भूमिकालाई ठीक बनाऊ । नेकपामा कोही मान्छे छ भने उसले पुनर्उत्थानवादी, प्रतिक्रियावादी भनेर ठूलो गाली गर्नुभन्दा नेकपाको वाहियताको घरझगडा निकालेर सरकार ठीक ढङ्गले चलाउन लगाऊ । आफै ठीक हुन्छ,’ थापाको दाबी छ ।

नेपाली काँग्रेस पार्टीले विगतमा पार्टीका तर्फबाट भएका गलत निर्णय र भूमिकालाई अविलम्ब सच्याएर आफ्नो दृष्टिकोण बनाइ हाल्नुपर्नेमा भण्डारीले जोड दिए ।

प्रदर्शनप्रति समर्थन, थप्यो उत्साह

यता काँग्रेस नेता शंकर भण्डारीले धर्मनिरपेक्षताविरुद्ध उठ्ने आवजमा आफ्नो साथ, समर्थन र सम्मान रहेने बताए । ‘जनताले आफ्नो मत राख्न पाउनुहुन्छ । वर्तमान व्यवस्थाप्रति  अरुची र असहमति राख्न पाउनुहुन्छ  । लोकतन्त्र भनेकै त्यही हो । हामीले लोकतन्त्र र परिवर्तनका हिमायतीहरुले जनताको आवाज, विचार र असहमतिलाई ग्रहण गर्नुपर्छ,’ उनले भने, ‘मनन गर्नुपर्छ । हाम्रा कमी कमजोरीलाई सच्याउनुपर्छ । जहाँसम्म धर्मनिरपेक्षता कुरा कुरा छ । जो जो पक्षले धर्मनिरपेक्षता विरुद्ध आवज उठाउँछ त्यसमा मेरो साथ समर्थन र सम्मान रहन्छ ।’

भण्डारीका अनुसार धर्मनिरपेक्षता देशको विरुद्धमा हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ । यसले देशलाई नयाँ प्रकारको संकटतर्फ धकेल्दै गरेको देखिन्छ ।

उनले भने, ‘यसमा जनमत देखिनु स्वभाविक छ । अन्य पक्षमा जनताले के महसुस गरेका छन् त्यो ढङ्गको कुरा उठाउने उहाँहरुको अधिकारको कुरा हो । जनतालेआफ्नो अधिकार प्रयोग गरेको रुपमा लिएको छ ।’

नेपाली काँग्रेस पार्टीले विगतमा पार्टीका तर्फबाट भएका गलत निर्णय र भूमिकालाई अविलम्ब सच्याएर आफ्नो दृष्टिकोण बनाइ हाल्नुपर्नेमा भण्डारीले जोड दिए ।

‘यस विषयको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो । त्यो किसिमको मेरो स्पष्ट विचार राख्दै आएको छु । राख्छु र भोलि पनि राख्ने छु । सडकमा देखिएको जुलुस र र्यालीमा कतिपय विचार हाम्रोभन्दा भिन्न पनि आएका छन् । त्यसमा सहभागी हुनेको आफ्नो दृष्णि र विचार होला । लोकतन्त्रवादी भएको नाताले विचारलाई मैले सम्मान गर्नुपर्छ,’ उनले भने ।

भण्डारीका अनुसार संविधान जारी गर्दा वा संविधान जारी गरिसकेपछि धर्मनिरपेक्षता गलत छ भन्ने मत थियो । उनले उत्साह व्यक्त गर्दै भने, ‘मलगायत पार्टीका धेरै साथीहरु र तत्कालीन संविधानसभामा धेरै माननीयको यो विचार मुखरित भएको थियो । त्यो विचार जनताको पनि विचार रहेछ भन्ने किसिमको अनुभूति भइराखेको छ । यसले म उत्साहित छु ।’

यस विषयमा केही नेताहरुले सस्ता र हलका टिप्पणी गरेकोमा उनको चित्त दुखाइ छ । जनताको आवाजलाई यसरी नजरअन्दाज, अवमूल्यान र अपमानित गरेर लोकतन्त्रवादी हुन नसिकने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप