शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा दुई दिन बिदा दिँदा कर्मचारी र सेवाग्राहीलाई के फाइदा हुन्छ ?

राज्यको १ अर्ब ६४ करोडभन्दा बढी जोगिने
शुक्रबार, २६ मङ्सिर २०७७, १४ : ३९
शुक्रबार, २६ मङ्सिर २०७७

सरकारी निकायका कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिँदा राज्यको ढुकुटीको १ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ वार्षिक बचत हुने सरकारी अध्ययनले देखाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन बिदाको नीति अघि सारेका छन् । सो नीति बमोजिम बिदा भए देशको ढुकुटीको वार्षिक १६ देखि २० प्रतिशतसम्म रकम बचत हुने देखिन्छ । 
सरकारले अहिले खर्च कटौतीको नीति लिएको छ । चालु आर्थिक वर्षको बजेटमा खर्च कटौती सम्बन्धि ब्यवस्था छ । खर्च कटौतीका लागि सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी एउटा मापदण्डसमेत जारी भइसकेको छ तर त्यसमा बिदाको विषय उल्लेख छैन । 

दुई दिन बिदामा इन्धन, यातायात, विद्युत, पानी र सरसफाइजस्ता खर्च कटौती भइ राज्यको ढेड अर्बभन्दा बढी रकम अर्थात् अहिले भइरहेको खर्चमा १६ देखि २० प्रतिशतसम्म कटौती हुने अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि ४७ ले हप्तामा ४० घण्टा कामको व्यवस्था गरेको छ । यसका लागि धेरैजसो मुलुकले सातामा पाँच दिनलाई ‘वर्किङ डे’ का रुपमा प्रयोग गर्दै आएका छन् भने नेपालमा हप्तामा ६ लगाएर ४० घण्टा काम गरिन्छ । अर्थात् नेपालले हप्तामा ४० घण्टा नै काम गर्न अन्य देशको तुलनामा एक दिन बढी खर्चदै आएको छ । 

उसो त हप्तामा दुई दिन बिदाको व्यवस्था आजभन्दा २१ वर्ष अगाडि कार्यान्वयनमा आएको थियो तर छोटो समयमै उक्त व्यवस्था बन्द भयो । कतिपयले पहिला नै फेल भएको दुई दिन बिदाको प्रावधान अहिले ल्याउँदा त्यतिबेला किन फेल भयो भन्ने अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई ‘हिट’ गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा दुई दिन बिदाको व्यवस्था गरिने भन्दै सरोकारवालाहरुलाई आश्वासन दिएका थिए । उनले आफ्नो आश्वासन पूरा गर्न एउटा कमिटी नै खडा गरेर हप्ताको दुई दिन बिदा दिने व्यवस्थाका लागि अध्ययन गर्न लगाए ।

सोही मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा बनेको अध्ययन समितिले दुई दिन बिदा सिफारिस गरेको हो । सोही अध्ययन समितिको प्रतिवेदनले हप्तामा दुई दिन बिदा दिँदा खर्च कटौती गर्न सहज हुने देखाएको हो । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटन मन्त्रालयले कर्मचारीलाई हप्ताको दुई दिन बिदाको अवधारणा अघि सारेको हो । यसअघि फेल भएको यो अवधारणा कार्यान्वयनमै शंका व्यक्त गर्दछन् सरकारका पूर्व मुख्य सचिव डा. बिमल कोइराला ।

यता पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी दुई दिन बिदा दिनुअघि निकै अध्ययन गरेरमात्र कार्यान्वयनमा लैजान सुझाउँछन् । 

दुई दिन बिदाले कर्मचारी र सेवाग्राहीलाई के फाइदा हुन्छ ?
नेपालमा आइतबारदेखि शुक्रबारसम्म ६ दिन कार्यालय जानुपर्ने व्यवस्था छ । सार्वजनिक कार्यालय शुक्रबार ३ बजेसम्म सञ्चालन हुँदै आइरहेको छ । सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिने कार्यालय शुक्रबार ३ बजे बन्द हुने भएकाले सेवाग्राहीको काम त्यस दिन नसकिएमा सो दिनदेखि आइतबारसम्म त्यही कामका लागि उसले समय खर्चनुपर्ने बाध्यता हुन्छ । जस्तै, नागरिकता, पासपोर्ट, सिफारिस जस्ता जिल्लास्थित कार्यालयहबाट सम्पादन हुने कार्यका लागि २ रात पर्खनुपर्ने, कतिपय कार्यालयबाट टाढा रहेकाहरु फेरि सोही कार्यालय धाउनुपर्ने हुँदा समय र खर्चको बर्बादीका साथसाथै सेवाग्राहीलाई झन्झट महसुस हुने सरकारी अध्ययनमा उल्लेख छ । 


यसकारण शुक्रबार ५ घण्टा गरिने कार्यलाई अन्य पाँच दिन एक÷ एक घण्टा थपिदिँदा अनुत्पादक समयसम्म सेवाग्राहीलाई झन्झट हुँदैन । दुई दिन बिदाको प्रावधानले कर्मचारी, श्रमिक र तिनका परिवारले योजना बनाएर घुम्न पाउँछन् । सरकारी र नीजि क्षेत्रले बिदा लागु गरे ७०÷८० लाख कर्मचारीले बिदा पाउने, त्यसमा १० प्रतिशतमात्र पनि सातामा १ दिन घुम्न निस्केमा ८ देखि १० लाखले आन्तरिक पर्यटनमा वृद्धि हुने सरकारी अध्ययनले भनेको छ । फुर्सदको सयम बढ्दै जाँदा उत्पादकत्व बढ्दै जानेछ । 

अन्तर्राष्ट्रिय अभ्यासमा दुई दिन बिदाको असर कस्तो छ ?  
विश्व आर्थिक मञ्चले ओइसिडी देशहरुको सन् १९९० देखि सन् २०१२ सम्मको तथ्यांकको आधारमा गरेको अध्ययनले कुल कार्यघण्टा र प्रतिकार्य घण्टा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादनबिच विपरित सम्बन्ध रहेको देखाएको थियो । कार्यबोझ बढेसँगै उत्पादकत्व बढ्ने सो अध्ययनले देखाएको हो । 

फुर्सदको समय बढ्दै जाँदा उत्पादकत्व बढ्दै जाने र निश्चित विन्दुपछिको धेरै फुर्सदले उत्पादकत्व घट्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।  विश्व श्रम संगठको महासन्धि ४७ ले श्रमिकलाई हप्तामा ४० घण्टाको आधारभुत कार्य समय तोकेको छ । विश्वका १ सय १६ देशमा हप्ताको दुई दिन बिदा हुने गरेको छ । 

एशिया महादेशका ३७ र सार्कका सात देशमा दुई दिन बिदाको प्रावधान छ । कतिपय देश र निजी कम्पनीहरुले हप्तामा चार दिनमात्रै काम हुने व्यवस्थासमेत गरेका छन् । उदाहरणका लागि जापानमा माइक्रोसफ्ट कम्पनीले तीन दिन बिदा दिने गरी गरेको परीक्षणले २३ प्रतिशत विद्युत खपत घटाएको देखिन्छ । 


दुई दिन बिदाको व्यवस्था यसअघि किन ल्याइयो र किन हटाइयो ? 
 नेपालमा २०५६ सालमा दुई दिन बिदाको निर्णय कार्यान्वयनमा गएको थियो । २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सुधार सजिलो हुने भन्दै दुई दिन बिदाको सिफारिस गरे बमोजिम नै बिदाको निर्णय कार्यान्वयनमा ल्याइयो । यद्यपि, सो प्रावधान धेरै टिक्न सकेन । तत्कालीन समयमा खर्च कटौती र कर्मचारीको उत्पादकत्व बढाउन लिइएको नीति छोटो समयमै रोकियो । त्यसको आर्थिक प्रभाव अध्ययन नै भएन । किन कार्यान्वयन रोकियो भन्ने यकिन अध्ययन तथा तथ्यांक छैन ।

यता, सरकारका पूर्व मूख्य सचिव डा. विमल कोइराला सो बेला १० बजे कार्यालय समय तोकिँदा कर्मचारीहरु ११ बजे पुग्ने गरेकाले सरकारको लक्ष्य छुन नसकेको बताउँछन् । दुई दिन बिदा र कार्यालय समय कडाइका साथ पालना भए देशलाई लाभ हुने उनको तर्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप