बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध आन्दोलन गर्ने घोषणा

शुक्रबार, ०३ पुस २०७७, १५ : ३७
शुक्रबार, ०३ पुस २०७७

कैलाली । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ ।
बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलन गर्ने घोषणा गरेको हो । मोर्चाले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको बताए । उनले भने, ‘वर्तमान सरकारले टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने थियो तर, यसलाई अपराधीकरण गरिएको छ ।’

मोर्चाले अदालतको फैसलाप्रति खेद प्रकट गरेको छ । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व सांसद कृष्णकुमार चौधरी (कुन्दन)ले टीकापुरमै भएको भदौ ८ गतेको घटनालाई पनि राज्यले अपराध ठहर गर्नुपर्ने बताए । उनले भने, ‘भदौ ७ गतेको घटनालाई अदालतले अपराध मानेको छ भने भदौ ८ गते कर्फ्यु लागेको समयमा थारुहरुका घर खोजीखोजी आगलागी गरिएका छन् । त्यो घटनाका दोषीहरुलाई किन अहिलेसम्म कारबाही भएन ?’

उनले राज्यमा दोहोरो कानुन लागू भइरहेको आरोप लगाए । उनले अदालतको फैसलाले न्यायको आवाजलाई दबाउने प्रयास गरेको टिप्पणीसमेत गरे । ‘हामीले थारुहरुको अधिकारका लागिमात्र नभई आदिवासी, जनजाति, राना थारु, दलित, मुस्लिम लगायत उत्पीडनमा परेका व्यक्तिहरुको अधिकारका लागि आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अन्यायमा परेका व्यक्तिहरुले न्यायको आवाज उठाउँदा राज्यले दबाउने प्रयास गरिरहेको छ ।’


थारुको अधिकारका लागि आवाज उठाइरहेका गयाप्रसाद कुश्मीले अदालतको फैसलाले दीर्घकालीन द्वन्द्व निम्त्याउने बताए । उनले प्रश्न गरे, ‘टीकापुर घटना आपराधिक हो भने २००७ सालको आन्दोलन, सशस्त्र जनयुद्व, झापा घटना लगायतका घटना किन आपराधिक भएनन् ?’ उनले टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गरी सम्भावित जोखिमबाट राज्यलाई बचाउन पनि आग्रह गरे ।

कोरोना भाइरस (कोभिड–१९) यता शान्त रहेको थरुहट आन्दोलन अहिले उच्च अदालतको फैसलापछि थप कडा बन्ने मोर्चाको चेतावनी छ । मोर्चाका प्रवक्ता माधवले भने, ‘हामी अब बैठक बस्छौं, त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्छौं ।

बिहीबार उच्च अदालत दिपायलले सांसद रेशम चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको सजाय सुनाएको छ । अदालतले चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि लक्ष्मण थारुलाई भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप