मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बैठकमा ओली : शेरबहादुर देउवा ‘बेबी किङ’को पक्षमा, माधव नेपालको प्रतिवाद

आइतबार, ०८ असोज २०७४, १७ : ०९
आइतबार, ०८ असोज २०७४

 काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले बरिष्ठ नेता माधव नेपालले भने झै पार्टीमा कुनै गुटबन्दी नमौलाएको प्रष्टिकरण दिएका छन् । 

तीन दिनअघि सुरु भएको केन्द्रीय कमिटि बैठकको आइतबार समापन गर्दै अध्यक्ष ओलीले पार्टी प्रजातान्त्रिक विधि र प्रकृयाअनुसार नै सञ्चालन भइरहेको भन्दै नेता नेपालले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन् । 

यसअघि बैठक सुरु भएकै दिन नेता नेपालले पार्टीमा गुटबन्दी मौलाएको तथा एकल निर्णयबाट अध्यक्षले पार्टी सञ्चालन गरेका कारण २ नम्बर प्रदेशमा पार्टीले हार व्यहोर्नु परेको बताएका थिए ।

 ‘ मैले मलाई देवत्करण गर्न लागएको होइन, सातौ महाधिवेशनबाट पारित नीति अनुसार नै पार्टी चलिरहेको छ । गुटगत र मनोगत आधारमा एमाले चलेको भ्रम फैलाइएको छ यसमा कुनै सत्यता छैन ।’ बैठकमा ओलीले जवाफ दिएका थिए । 

बैठक श्रोतले ओलीले दिएको जवाफलाई उद्धृत गर्दै भन्यो ‘ एमालेमा भएका सवै निर्णय सामुहिक नै भएका छन् । महाधिबेसनपछि ८९ पटक स्थायी समिति बैठक बसेका छन् । ति बैठकले पार्टीको हितकै विषयमा निर्णय गरेका छन् ।’ 

अध्यक्ष ओलीले सातौ महाधिबेशनले पास गरेको संकल्प प्रस्ताव कार्यन्वयनमा हुन नसकेको स्वीकार्दै भने ‘केही कमि कमजोरी भए होलान तर, माधवजीले भने झै लथालिङ र भताभुङ भने भएको छैन । त्यसको उदाहरण हो स्थानीय तहमा एमाले पहिलो पार्टी बन्नु ।’

बैठकमा अध्यक्ष ओलीले  आगामी निर्वाचनमा माओवादीसँग पनि कार्यगत एकता गर्न सकिने संकेत पनि गरे । ‘प्रचण्डलाई मैले टाढा बनाएको हैन, आफ्नै टाढा भएका हुन । तर प्रचण्डसँगको सहकार्य सकियो नै भन्ने होइन फेरी पनि हुनसक्छ ।’ यसअघि नेता नेपालले प्रचण्डसँगको सहकार्य तोडेर अध्यक्षले गल्ती गरेको बताएका थिए ।

बैठकमा अध्यक्ष ओलीले शेरबहादुर देउवाको व्यवहार भने शंकास्पद रहेको धारणा राखेका थिए । उनले देउवा ‘बेबी किङ’ र सांस्कृतिक प्रतिक भनेर ‘राजा’ राख्ने योजनामै रहेको भन्दै त्यसतर्फ सतर्क हुनुपर्ने बताए । ‘ देउवा बेबी किङ र सांस्कृतिक प्रतिक भनेर आउने प्रवल सम्भावना छ र आगामी मंसिरमा हुने चुनाव पनि रोक्नेसम्भावना छ । यसमा सवैले ध्यान दिन जरुरी छ ।,’

ओलीले मधेसमा एमालेलार्ई छिर्न नै दिन्न भनिरहेको र एमाले विरुद्ध राज्यशक्ति लागेको अवस्थामा  एमाले मधेसमा छिर्नु नै ठुलो कुरो भएको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप