सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिनमा ९८१ कोरोना संक्रमितको मृत्यु

बुधबार, १५ पुस २०७७, २३ : २५
बुधबार, १५ पुस २०७७

लन्डन । बेलायतमा एकैदिनमा ९८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर शुरु भएयताको सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजार ५४८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ५० हजार २३ जना नयाँ  संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जानकारी दिएको छ ।

बेलायतमा हालसम्म संक्रमितको संख्या २४ लाख ३२ हजार ८८८ पुगेको छ । यसैगरी अस्पताल भर्ना हुने संक्रमितको संख्यामा निरन्तर बृद्धि भैरहेको छ । २४ घन्टामा मात्र थप दुई हजार ४३० जना नयां संक्रमित अस्पताल भर्ना भएको नेशनल हेल्थ सर्भिसले जनाएको छ । अस्पतालमा संक्रमितको चाँप बढेपछि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ । बेलायतमा अस्पतला भर्ना हुनेको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको छ । 

हाल बेलायतमा कोरोना भाइरसको नयाँ सस्करण देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको छ । मंगलबार सार्वजनिक संक्रमित संख्या पनि महामारी  शुरु भए यताकै सबैभन्दा बढी हो । मंगलबार एकैदिनमा ५३ हजार भन्दा बढी संक्रमित फेला परेका थिए । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले बेलायतका विभिन्न क्षेत्रमा थप कडा प्रतिबन्ध लागू गरें घोषणा गरेको छ ।

बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट, साउथ वेष्ट र नर्थ वेष्टसहितका केही क्षेत्रमा सबैभन्दा कडा तहका  ‘टिएर ४’ प्रतिवन्धहरु लागू गर्न लागिएको घोषणा गरे । ‘टिएर ४’ प्रतिवन्ध लागू भएका क्षेत्रमा सरकारले ‘स्टे होम’ को अलर्ट जारी गरेको छ । यी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहनेछन् । रेष्टुरेन्ट, पब, बार, हेयर ड्रेसर, जिमखाना लगायतका क्षेत्र बन्द रहनेछन् भने रेष्टुरेन्टहरुले टेकवे तथा डेलिभरी सेवा मात्रै सुचारु राख्न पाउनेछन् ।

अन्य टियरमा रहने क्षेत्रसम्म यात्रा नगर्न आव्हान गरिएको छ ।फरक(फरक घरका सदस्यबीचको इन्डोर मिक्सिंगमा पूर्णत रोक हुनेछ । पार्कसहितका आउटडोर स्थानमा अर्को घरको एक जनासम्म मात्र भेट्ने छुट छ । बेलायतमा हाल फाइजर(बायोएनटेकको कोरोना विरुद्धको भ्याक्सिन वितरण भैरहेको छ । करिब सात लाख मानिसहरुले पहिलो डोजको भ्याक्सिन लगाइसकेका छन् भने कोहीले दोस्रो डोज पनि शुरु गरिसकेका छन् ।

यसैगरी बुधबारबाट अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपले मान्यता पाएको छ । मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आम मानिसमा खोप वितरण गर्ने बाटो खुलेको हो । बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप हो । 

अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ । एक डोजको मूल्य दुईदेखि तीन पाउण्डसम्म पर्ने सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त खोप पनि फाइजर बायोएनटेक जस्तै  प्रति व्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले बेलायतका विभिन्न क्षेत्रमा थप कडा प्रतिबन्ध  घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप