खप्तड घुम्न हेलिकप्टरको व्यवस्था
डोटी । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।
सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए ।
उनले भने, “कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ ।” घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट रु ३० हजार, डोटीको दिपायलबाट रु १० हजार र झिङ्ग्रानाबाट रु आठ हजारमा खप्तड घुम्न पाइने भएको छ ।
कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिए ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीयवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण