बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल क्लियरिङ्ग हाउसले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली

शुक्रबार, ०२ माघ २०७७, १३ : १७
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आज अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक  ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ । 

यस प्रणालीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट इलेक्ट्रोनिक चेक हुँदै नगदरहित डिजिटल प्रणाली कार्यान्वयन गर्न  एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतिलाई आजको यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएको बताए । ‘कर्पोरेट पे’ प्रणालीमार्फत बैंक वित्तीय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने गभर्नर अधिकारीले बताए । 

‘कर्पोरेट पे’ प्रणाली बैंक/वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो । यस प्रणालीको सुरुवातसँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानीहरू कनेक्ट आईपीएसमार्फत रियल टाइममा तथा एनसीएचएल आईपीएसमार्फत नन रियल टाइममा  हुनेछन् ।

यस प्रणालीमार्फत अन्तर बैंक र  सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ । ‘कर्पोरेट पे’ प्रणाली सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एक पटक स्विकृती प्राप्त गर्नुपर्ने हुन्छ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रेहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ । 

‘कर्पोरेट पे’ प्रणालीको सफल कार्यान्वयन गरी व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्ने कार्यमा एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागका कार्यकारी निर्देशक नरेश शाक्यको पनि विशेष योगदान रहेको छ ।

कार्यक्रममा बोल्दै शाक्यले भने, ‘एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ई पेमेन्छ, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । अब ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात पछि सदस्य बैंक वित्तीय संस्थाहरुले आफ्नो साना तथा मझौला व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्न मद्दत पुर्याउनेछ । यसले नगद रहित कारोबारलाई प्रोत्साहन गरी डिजिटल  कारोबारको संख्या र रकम वृद्धी गर्न मद्दत गर्नेछ । एनसीएचएलको पुनर्लगानीको नीति तथा भुक्तानी पूर्वाधार विकासमा हाम्रो प्रतिबद्धता बमोजिम ‘कर्पोरेट पे’ प्रणाली पनि बैंक वित्तीय संस्थाहरुक्रो थप लागत बिना नै उपलब्ध गराइएको छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप