शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो नै प्रजातन्त्र हो भने चाहिँदैन यस्तो प्रजातन्त्र हामीलाई’

सोमबार, १९ माघ २०७७, ०९ : ३६
सोमबार, १९ माघ २०७७

जब लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिन्छन्, पछारिन्छन्, फालिन्छन्, तब नागरिक समाज उठ्नैपर्छ । मलाई कति–के दुःख लागेको छ भने नागरिक समाजको आन्दोलनमा प्राध्यापकहरू देखिनुपर्ने, उहाँहरू (प्राध्यापकहरू) पनि बल्नुपर्ने हो । उहाँहरू बलेपछि मात्रै पो छात्रछात्राहरूलाई बाल्न सक्नुहुन्छ । त्यो नदेखेर अलिकति दुःख लागेको छ ।

तर, जुन आवाज उठाउनु भएको छ । यसलाई म धन्यवाद दिन्छु । म जहिले पनि भन्ने गर्छु, अमेरिकाको तेस्रो राष्ट्रपति थोमस जेफरसन सायद अमेरिकाको संविधान लेख्ने सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो– लोकतन्त्र, प्रजातन्त्र चाहिन्छ भने त्यसको मूल्य चुकाउनुपर्छ । त्यो मूल्य भनेको सधैँ सचेत हुनुप¥यो भन्ने हो, उठिहाल्नु प¥यो !

कसैले तपाईको औँलामा टेक्दा कमसे कम ‘ऐया !’ त भन्न प¥यो । नजानिकनै टेक्या हो भने त त्यो मानिसले माफी माग्नुपर्छ । तर यहाँ ऐया पनि नभनिकन बस्ने मानिसहरू छन् ।  त्योचाहिँ भएन ।

तपाईहरु जुन उठिराख्नुभएको छ, जुन संसद् पुनर्स्थापनाका कुरा गरिरहेका छौँ हामीले, मेरो विचारमा संसद पुनर्स्थापना गरेरमात्रै सबै कुरा सिद्धिने होइन । यहाँ भयानक विकृति देखेका छौँ, भयानक विकृति खपेका छौं हामीले । एउटा निर्वाचन प्रक्रिया नै हेर्नुस् न, कति महँगो बनाएका छौं हामीले ! यसलाई पनि हामीले एडजस्ट गर्नुपर्छ । मलाई त कताकता लाग्छ, यो नागरिक समाज यति बढेर यस्ता रूपमा आओस् कि– १३ औँ शताब्दीमा किङ जोन भन्ने बेलायतको निरंकुश राजा थियो,  त्यसलाई २५ वटा व्यारलले बोलाएर हस्ताक्षर गर्न लगाइएको थियो म्याग्नाकार्टामा । त्यस्तै म्याग्नाकार्टामा यी सबै नेताहरूलाई हस्ताक्षर गर्न ल्याउनुपर्छ ।

एउटा कुरा मैले भनिसकेँ– यो निर्वाचन प्रणालीमा भ्रष्टाचार, गडबढी हुने गर्छ । नेपालले यो धान्न सक्दैन । यसलाई अर्कै प्रक्रियाबाट काम गर्नुपर्छ । अर्को कुरा, हरेक कुरामा राजनीतिकरण छ । एउटा सत्ता आयो कि उहाँहरूले त बिर्ता पाएको जस्तो गर्नुहुन्छ– हरेक क्षेत्रमा । प्रशासनिक क्षेत्रमा हुँदाहुँदा अब संवैधानिक अंगहरूमा हात छ । हो, हामीले यसलाई बन्द गर्नैपर्छ, सहनै हुन्न ।

बालुवाटार पटक पटक पुगेर चारजना प्रधानमन्त्रीलाई बिन्ती गरेर भनेको छु– विश्वविद्यालयमा तपाईंहरूले हात नबढाउनुस् है, प्रधानमन्त्रीज्यू । कहिल्यै राम्रो हुन्न यो । जब विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्वविद्यालयले कहिल्यै पनि राम्रो गर्न सक्दैन ।

तर, हेर्नुहोस् ! उहाँहरुले जुन किसिमको राजनीतिक हस्तक्षेप गर्नुभएको छ, यसको पनि अन्त्य गर्नुपर्दछ ।

अब संघीयताको पहिलो कुरा आयो । संघीयताप्रतिको प्रतिबद्धता आउनुप¥यो । भाषणमा मात्रै होइन, अब के गर्नुहुन्छ, ६ महिनापछि के गर्नुहुन्छ, त्यो आउनुपर्छ । अहिले दुई÷चार वर्ष हेर्दा त्यो त देखिएको छैन ।

समाजवादप्रतिको प्रतिबद्धता आउनुप¥यो । हामीले त्यो त महसुस गरेका छौँ । अलिकति समाजवादी खालको रिपोर्ट आएको छ भने चकटीमुनि राख्ने, बाहिर निकाल्दै ननिकाल्ने । हाम्रै चिकित्सा शिक्षाको प्रतिवेदन पनि डेढ महिना उहाँहरूले लुकाउनु भयो । लडेर, अनेक गरेर हाम्रो साथीहरूले साथ दिनुभयो, हामीले निकाल्यौं । अहिले शिक्षा देख्नु भो नि ? यो पनि प्रजातन्त्र हो ? यो प्रजातन्त्र हो भने चाहिँदैन यस्तो प्रजातन्त्र हामीलाई । मैले सोचेकै थिइनँ यस्तो प्रजातन्त्र ।

आफूले गठन गरेको, आफ्नै मन्त्रीको अध्यक्षतामा भएको उच्चस्तरीय समितिको प्रतिवेदन लुकाउँछ । रामराम ! प्रतिवेदनलाई त सार्वजनिक गरेर बहस गर्नुप¥यो नि, छलफल गर्नुप¥यो नि ।

सार्वजनिक विद्यालयहरू हेर्नुहोस्, सार्वजनिक अस्पतालहरू हेर्नुहोस्, स्थिति देख्नुहुन्छ । समाजवादतिर हामी पटक्कै अगाडि बढेको छैन । हो, यसमा पनि प्रतिबद्धता चाहिन्छ । उमेरले साथ दिएन मलाई, नभए म हरेक दिन आउँथे होला । नागरिक आन्दोलन भव्य रुपले जाओस् । म्याग्नाकार्टा जस्तो हरेक नेतालाई बोलाएर छाप लगाउने, मानेन भने फ्याँक्नु पर्छ ।

(नागरिक समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक डाक्टर माथेमाले व्यक्त गरेका भनाइको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदारभक्त माथेमा
केदारभक्त माथेमा
लेखकबाट थप