आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आङ सान सूकीमाथि लगाइए थुप्रै आरोप, फागुन ३ गतेसम्म हिरासतमै

बिहीबार, २२ माघ २०७७, ०७ : १८
बिहीबार, २२ माघ २०७७

म्यानमारमा सोमबार भएको सैन्य ‘कू’ पछि त्यहाँको प्रहरीले नेता आङ सान  सूचीमाथि थुप्रै आरोप लगाइएको छ । 

प्रहरीको दस्तावेज अनुसार उनलाई १५ फेब्रुअरीसम्म हिरासतमा राखिने छ । आङ सान सूचीमाथि आयात निर्यातको नियम उल्लंघन गरेको र गैर कानूनी ढङ्गले दूरसंचार यन्त्र राखेको आरोप लगाइएको छ । 

यद्यपि, उनलाई कहाँ राखिएको छ, त्यसबारे खासै जानकारी भने दिइएको छैन । तर खबरकाम अनुसार उनलाई राजधानी नेपीडावमा उनको घरभित्रै नजरबन्दमा राखिएको छ । 

अपदस्त राष्ट्रपति विन मिनमाथि पनि थुप्रै आरोप लगाइएको छ । दस्तावेज अनुसार उनीमाथि कोभिड–१९ महामारीका बेला मानिसहरु जम्मा हुन लगाइएको प्रतिबन्धको नियमको उल्लंघन गरेको आरोप लगाइएको छ । उनलाई पनि दुई हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ । 

एक फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि न त आङ सान सूचीको तर्फबाट न नै राष्ट्रपति विन मिनको तर्फबाट कुनै बयान आएको छैन, न नै उनीहरुलाई कतै सार्वजनिक रुपमा देखिएको छ । 

सैन्य कूको अगुवाई गर्ने सेनाका जनरल मिन आन हाइङ्गले देशमा एक वर्षको आपतकाल लगाइदिएका छन् । यतिबेला देशको कामकाज हेर्नका लागि ११ सदस्यको एक सैन्य सरकार छानिएको छ । 

सेनाले अघिल्लो वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सैन्य कू सही भएको ठहर गरेको छ । यी चुनावमा आङ सान सूकीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले एकतर्फी जीत हासिल गरेको थियो । 

आङ सान सूकीमाथि लागेको आरोप कति गम्भीर ?

अदालतसमक्ष प्रहरीले ‘फर्स्ट इनिशियल रिपोर्ट’ प्राथमिक रिपोर्टको नामबाट एउटा रिपोर्ट पेश गरेको छ जसमा आङ सान सूकीमाथि लगाइएको आरोपबारे लेखिएको छ । 

रिपोर्ट अनुसार सूकीले गैर कानूनी तरिकाले वाकीटकीजस्ता दूरसञ्चार यन्त्र आयात गरेको आरोप लागेको छ । नेपीडावमा उनको घरमा प्रहरीले यो यन्त्र पाएको हो । 

रिपोर्टका अनुसार उनलाई हिरासतमा लिएर साक्षीसँग जोधपुछ गरिनेछ र प्रमाण जुटाइनेछ । त्यसपछि उनीसँग सोधपुछ गरेपछि कानूनी सल्लाह लिइनेछ । 

विन मिनमाथि राष्ट्रिय आपतकालीन कानून अन्तर्गत आरोप लगाइएको हो । उनीमाथि कोभिड महामारीका बेला लगाइएको प्रतिबन्धको उल्लंघन गरेर २२० गाडीको कार्केडसहित आफ्नो समर्थकलाई भेट्न गएको आरोप छ ।

दक्षिणपूर्व एशिया संवाददाता जोनथन हेडको विश्लेषणः

जसरी म्यानमारको राष्ट्रिय एकतालाई खतरा छ भन्दै अचानक सेनाले सत्ता आफ्नो हातमा लियो र अन्तर्राष्ट्रिय स्तरमा यसको व्यापक आलोचना भयो, यो हेर्दा यी आरोप हास्यास्पद नै लाग्छ । 

तर आङ सान सूकीलाई सरकारको नेतृत्व गर्न नदिने उद्देश्यमा सेना सफल हुनसक्ने कुरालाई अस्विकार गर्न भने सकिँदैन । जो व्यक्तिमाथि आपराधिक मामिला दर्ता गरिएको छ, ती व्यक्ति संसदको सदस्य बन्न सक्दैनन् । 

पछिल्लो ३२ वर्षमा म्यानमारको सेनाले आङ सान सूकीका कारण पैदा भएको खतरालाई कम गर्न लगातार कोसिस गरिरहेको छ । तर उनको लोकप्रियतामा कहिले पनि कुनै कमी आएन र सेना आफ्नो कोसिसमा असफल भइरह्यो । उनले जहिले पनि चुनाव लड्ने मौका पाइन् उनले भारी बहुमतले चुनाव जितिन् । 

अहिलेसम्म उनले एकपटक मात्रै चुनाव जित्न सकिनन् । १० वर्ष अघि सैन्य सरकारले गराएको चुनावमा उनी हारेकी थिइन् । त्यतिबेला उनलाई चुनाव लड्ने अनुमति दिइएको थिएन किनभने उनीविरुद्ध आपराधिक मुद्दा दर्ता थियो ।

यंगौनमा उनलाई आफ्नो घरमा नै नजरबन्द गरिएको थियो । एक अमेरिकी व्यक्ति पोखरीमा पौडी खेलेर उनको घर पुगेका थिए । त्यसपछि उनीमाथि आपराधिक मुद्दा दर्ता गरिएको थियो । 

म्यानमारमा सैन्य कूविरुद्ध खासै ठूला प्रदर्शन भएको देखिएको छैन । मंगलबार राती यंगूनका नागरिकले विरोधमा हर्न बजाएका थिए । साथै यहाँ बस्नेहरुले भाँडा ठटाएर आफ्नो विरोध जताए । 

म्यानमारमा सैन्य कूपछि नै राती कर्फूयू लगाइएको छ । यहाँ सडकमा ठूलो संख्यामा सुरक्षाबल तैनाथ गरिएको थियो र सडक धेरैजसो सुनसान नै देखिन्छन् । 

समाचार एजेनसी एपीका अनुसार सेनाको समर्थनमा पनि यहाँ एक प्रदर्शन भयो जसमा ३ हजार मानिस समावेश भए । 


सेनाले यहाँ थुप्रै राजनेतालाई पनि हिरासतमा लिएको थियो । यद्यपि, उनीहरुलाई मंगलबार राजधानीको जुन गेस्टहाउसमा उनीहरु बन्द छन् त्यहाँबाट बाहिर जानसक्ने बताइएको छ । 

यी नेतामा जिन मार पनि समावेश छिन् जसले बीबीसी बर्मा सेवालाई दिएको जानकारी अनुसार उनीहरुलाई त्यहाँबाट जानका लागि २४ घण्टाको समय दिइएको छ । 

उनले भनिन्, ‘हालको समयमा स्थिती निकै मुशिकल र चुनौतीपूर्ण छ । सैन्य कूका बीच हाम्रो अबको कदम के हुनेछ त्यसबारे बताउनु पनि हाम्रो लागि खतरनाक साबित हुनसक्छ । तर म तपाईंलाई एउटा के कुरा भन्न सक्छु भने हाम्रो सांसद जनताका लागि पक्कै पनि लड्नेछन् र गणतन्त्रको समर्थन गर्नेछन् ।’

को हुन् आङ सान सूकी ?

– आङ सान सूकी म्यानमारको स्वतन्त्रताका नायक भनेर चिनिने जनरल आङ सानकी छोरी हुन् । सन् १९८४ मा बेलायती राजबाट स्वतन्त्रता पाउनु अघि नै जनरल आङ सानको हत्या गरिएको थियो । सूकी त्यतिबेला दुई वर्षकी मात्रै थिइन् । 

– सन् १९९० को दशकमा सूकीलाई संसारभरी मानवाधिकारका लागि लड्ने महिलाको रुपमा हेरियो जसले म्यानमारको सैन्य शासकलाई चुनौती दिनका लागि आफ्नो स्वतन्त्रता त्यागिदिइन् । 

– सन् १९८९ देखि २०१० सम्म सूकीले लगभग १५ वर्ष नजरबन्दीमा बिताइन् । 

– सन् १९९१ मा नजरबन्दीकै बेला सूकीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । 

– सन् २०१५ को नोभेम्बर महिनामा सूकीको नेतृत्वमा नेशनल लीग फर डेमोक्रेसी पार्टीले एकतर्फी चुनाव जित्यो । यो म्यानमारको इतिहासमा २५ वर्षमा भएको पहिलो चुनाव थियो जसमा मानिसहरुले खुलेर भाग लिए । 

– म्यानमारको स्टेट काउन्सलर बनेपछि आङ सान सूकीले म्यानमारका अल्पसंख्यक रोहिङ्ग्या मुसलमानबारे जुन व्यवहार गरिन् त्यसको निकै आलोचना भयो । लाखौं रोहिङ्ग्या म्यानमारबाट पलायन भएर बंगलादेशमा शरण लिए । 

संसारका सात धनी मुलुकले म्यानमारमा सैन्य कूको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ गणतन्त्रको बहालीको माग गरेका छन् । 

जी सेभेन देश (क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका) ले एक बयान जारी गर्दै भनेका छन्, ‘हामी म्यानमारका सेनासँग तुरुन्त आपतकाल समाप्त गर्न र गणतान्त्रिक रुपमा छानिएको सरकार बहाल गर्न अपिल गर्छौं । साथै उसले मानवाधिकारको पनि सम्मान गरोस् र जुन नेतालाई हिरासतमा लिइएको छ, उनीहरुलाई रिहा गरियोस् ।’

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप