सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चिकित्सकको परामर्श शुल्क वृद्धिप्रति मन्त्रालयको असहमति

बिहीबार, ०६ फागुन २०७७, १५ : ३९
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति नरहेको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा मन्त्रालयमा प्रेषित परामर्श शुल्कसम्बन्धी पत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रवक्ता गौतमका अनुसार यही माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको असहमति छ ।

‘यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन,’ डा. गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरीमात्र यस किसिमको निर्णय उचित हुन्छ ।’ 

मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयबाट जारी गरिएको पत्रानुसार नै कायम रहेको पनि प्रस्ट पारेको छ । निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको हकमा भने न्यूनतम पारिश्रमिक, अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्कसमेतको समय सापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप