बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बझाङको साइपाल गाउँपालिका भोकमरीको मारमा

शुक्रबार, ०६ चैत २०७७, ०७ : २६
शुक्रबार, ०६ चैत २०७७

काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी प¥यो । पानी नभएपछि अन्न बाली फलेन ।

भोकमरीको मारमा परेपछि गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरिलाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया छन् । उपाध्यक्ष बोहराले साथमा एक वर्षको बच्चा पनि ल्याएकी छन् । ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसमक्ष बिहीबार गाउँका पीडा सुनाउँदै उपाध्यक्ष बोहराले भनिन्, ‘पुस–माघबाटै खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौंला भनेर व्यापारीबाट पैंचो चामल मागेर खाइरहेका छन् ।’

गाउँपालिकामा ५ वटा वडा छन् । वडा १ र २ मा करिब १५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । वडा ३ मा करिब १६० परिवार, ४ मा २०० र ५ मा करिब १०० घरधुरी छन् । यो क्षेत्र चीनको सीमानजिकै छ । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ । जसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप