मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चाल्नाखेलमा भेटिएका दुई शवको पहिचान खुल्यो, १० कक्षामा पढ्ने विद्यार्थी भएको पुष्टि

पोष्टमार्टम गर्न शिक्षण अस्पतालमा पठाइयो
शुक्रबार, ०६ चैत २०७७, १६ : ३८
शुक्रबार, ०६ चैत २०७७

 काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ ।  शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो । 

नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।  नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए । 

‘दुवैजना बाङ्गेमूढामा बस्थे’ एसपी बस्नेतले भने–‘उनीहरु साथी हुन्, मृत्युको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् । 

तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेले बताए ।  खहरेस्थित जंगलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहिबार बिहान १० बजेबाट हराएका थिए । 

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् । 

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप