बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा बहस: संसद मरेको हो कि होइन ?

माधव पक्षले असन्तुष्टि जनायो, ओलीले अडान छाडेनन्
शुक्रबार, १३ चैत २०७७, १८ : ३८
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । एक–अर्काबीच पानी बाराबारको स्थितिमा रहेका नेकपा एमालेका दुबै गुटका सांसदहरु शुक्रबार दिउँसो बालुवाटारमा भेला भए । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा भाग लिन माधव नेपाल पक्षका नेताहरु पनि बालुवाटार पुगेपछि पार्टी एकताको भाव सञ्चार भएको भन्दै ओली पक्षका सांसदहरु पनि उत्साहित देखिए । 

एमाले संसदीय दलको बैठक आगामी बजेट र विकास योजनाहरुका सम्बन्धमा सांसद र मन्त्रीबीच सम्वाद गर्नका लागि बोलाइएको थियो । बैठकलाई प्रधानमन्त्री ओलीले सम्वोधन गरेका थिए भने अर्थमन्त्री विष्णु पौडेलले पनि सांसदहरु र मन्त्रीलाई मिलेर विकासे योजनाहरु तयार पार्न सुझाएका थिए ।

सचिवालय सदस्य एवं अर्थमन्त्री पौडेलले बजेट निर्माणको तयारीबारे ‘फिडब्याक’ दिन सांसदहरुलाई आग्रह गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री पौडेलले सांसदहरूका गुनासा सुन्न र समाधान गर्न अन्य मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

भट्टराईका अनुसार दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटन भएकाले ढिलो अधिवेशन प्रारम्भ भएको र वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने भएकाले संसदको जारी बैठक केही दिनमै अन्त्य गर्ने जानकारी गराएका छन् ।

दुई गुटको द्वन्द्व

विकास योजनाबारे छलफल गर्न भन्दै बोलाइएको बैठकमा पार्टीभित्रको दुई गुटको भनाभन पनि मुखरित भएको थियो । बरिष्ठ नेता झलनाथ खनालले केही कुरा राख्छु भन्दै आफ्ना धारणाहरू राखेका थिए ।

खनालले पार्टी जेठ २ को पुरानै अवस्थामा फर्किनुपर्ने भन्दै त्यसपछि एकलौटी रुपमा भएका निर्णयहरु सच्याउन आग्रह गरेको एक सांसदले बताए । खनालले ‘मरेको संसद ब्यूँतियो, यसमा म माननीयज्यूहरुलाई बधाई दिन्छु’ भनेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरे ।

‘संसद मरेको होइन, विघटनको कदम संवैधानिक थियो,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अदालतले आफ्नो ढंगले व्याख्या ग¥यो, त्यसलाई हामीले मानेको हो । तर, ताजा जनादेशमा जाने कदम संवैधानिक थियो ।’

संसदीय दलको बैठकमा तल फ्लोरमा रहेका सांसद घनश्याम भुसालले समय मागेर बोलेका थिए । उनले विगतका निर्णय सच्याउनुपर्ने भन्दै कडाइ पूर्व कुरा राखेको एक सांसदले बताए । दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि बोलेका थिए । उनीहरुले पार्टी अध्यक्ष ओलीलाई अभिभावकको भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते भएका निर्णय र त्यसयताका कमिटीले गरेका निर्णयबाट पछि फर्कन सकिँदैन भनेर बैठकमा प्रस्ट पारेको विशाल भट्टराईले बताए ।

भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै भने, ‘संसदीय दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको अवस्थामा यही नै संसदीय दलको विधान हो । अपरिवर्तनीय र असंशोधनीय छैन । तर, अहिले नै संशोधन गर्ने अवस्था छैन ।’

गुटगत वा समूहगत रुपमा कुनै डिल गर्दैनौं । व्यक्तिगत रुपमा हरेकका गुनासा सुन्न तयार छौं भन्दै प्रधानमन्त्री ओलीले बैठकमा सहभागी भएकोमा माधव पक्षका सांसदहरुलाई पनि धन्यवाद दिए ।  

बैठकमा प्रधानमन्त्रीले भने, ‘अब हाम्रो संसदीय दलको बैठक नियमित बस्छ, हामी सांसदहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन्छौं ।

एमाले ब्युँतिसकेपछि माधव समूह बालुवाटार बैठकमा अनुपस्थित भएकोमा शुक्रबार पहिलो चोटि बैठकमा उपस्थित भएको हो । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित भएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप