सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा २४ घण्टामा ३ हजार चार सय कोरोना संक्रमित, ५२ जनाको मृत्यु

शुक्रबार, २० चैत २०७७, २२ : २७
शुक्रबार, २० चैत २०७७

लन्डन ।  बेलायतमा बितेको २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ  संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको छ  । विगतका दिनहरुमा चार हजारभन्दा माथि रहँदै आएको संक्रमित संख्या शुक्रबार चार हजार भन्दा तल झरेको हो । यद्यपि बेलायतमा कोरोना संक्रमण मापक दर भने गत हप्ताको तुलनामा बढेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबारको तथ्याँक अनुसार संक्रमण मापन दर (आर) नम्बर ०.८ देखि १ को बीचमा पुगेको छ, जबकी यो संख्या गत हप्ता ०.७ देखि ०.९ को बीचमा रहेको थियो ।

बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ रहेको छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्याँकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८१६ पुगेको छ । हाल बेलायतमा ‘इष्टर होलिडे’ सार्वाजनिक विदाको समय चलिरहेको हुँदा कोरोनाभाइरस सम्बन्धि नियमित अपडेट भएपनि वास्तविक तथ्याँकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा रहेको छ ।

अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । शुक्रबार सार्वजनिक तथ्याँक हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५१७ छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २७३ संक्रमित अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या तीन हजार ७२३ छ । ३ करोड ६२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ६२ लाख ४९ हजार ९०२ डोज वितरण भएको छ । तीन करोड १३ लाख १ हजार २६७ जनाले खोपको पहिलो र ४९ लाख ४८ हजार ६३५ जनाले खोपको  दोस्रो डोज लिएका छन् ।

इङ्ग्ल्यान्डको ‘रेड लिष्ट’ सूचीमा थप चारवटा मुलुक

इङ्ग्ल्यान्डले थप ४ मुलुकबाट यात्रा प्रतिवन्ध घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै आउँदो ९ अप्रिल  शुक्रबारबाट लागू हुनेगरी फिलिपिन्स,पाकिस्तान,केन्या र बंगलादेशलाई इङ्ग्ल्याण्डले  ‘रेड लिष्ट’ मा राखेको हो । यससँगै बेलायतको ‘रेड लिष्ट’ को सूचीमा पर्ने मुलुकको संख्या ३९ पुगेको छ ।

विशेषतः भाइरसका नयाँ ’भेरियन्ट’ फेला परेका र पछिल्लो समय निकै उच्च संक्रमण रहेका मुलुकहरु ‘रेड लिस्ट’ मा राखिएका  छन् ।  प्रतिवन्ध लागू गरिएका मुलुकहरूबाट इङ्ग्ल्याण्ड आउन पाइनेछैन । तर बेलायती नागरिक वा बेलायतमै बसोबास गर्नेहरुको लागि भने अनिवार्य ‘होटेल क्वारेन्टिन’ को शर्तसहित आउने छुट दिइनेछ । उनीहरुले आफ्नै खर्चमा बेलायत सरकारले अनुमति प्रदान गरेको होटलमा १० दिन क्वारेन्टिन बस्नुपर्नेछ, जसको लागि १७५० पाउण्ड लाग्नेछ । त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ। तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै  बिताउनुपर्नेछ ।  

पछिल्लो समयमा युरोप लगायतका  विभिन्न मुलुकमा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेसँगै बेलायत सरकारले यात्रा प्रतिवन्ध सम्बन्धि कडा नियमहरु लागू गर्दै आएको छ । बेलायत प्रवेशमा मात्र नभई बेलायतबाटसमेत बाह्य मुलुकमा जानको लागि अत्यावश्यक काम बाहेकका लागि प्रतिबन्ध गरिएको छ ।

करिब तीन महिना पश्चात इङ्ग्ल्याण्ड भर्खरैमात्र लकडाउनलाई केहि सहज गर्दै बढीमा ६ जना वा दुई परिवारबीच आउटडोरमा भेट्न पाउने नियम लागू भएको छ । आउँदो १२ अप्रिलबाट लकडाउनलाई थप खुकुलो पारिनेछ र अत्यावश्यकबाहेकका पसलहरु समेत खोल्ने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप