वर्षमान पुनको खुलासा : केही दिनमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ
रोल्पा । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुली चौरमा आयोजित कार्यक्रमलाई बुधबार सम्वोधन गर्दै नेता पुनले भने ‘अलिकति नैतिकता छ भने राजीनामा दिनुस्, तपाईंका अहिलेका कमजोरी र आलोचना रातारात पखालिन्छन्, तपाईंको व्यक्तित्व अग्लिनेछ ।’
सुलिचौरमा आयोजित प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै रोल्पाका जनप्रतिनिधिसमेत रहेका पुनले प्रधानमन्त्री ओलीले राजीनामा नदिए हटाइने बताए । उनले भने, ‘यसरी देश चल्दैन, केही दिनपछि ओलीजी हटाइनुभयो, अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाउनुहुनेछ ।’
प्रधानमन्त्री ओलीले नेकपाले घोषणा गरेको जस्तो विकासको सपना पूरा गर्न नसकेको पुनले बताए । ‘उहाँले पानीजहाज कार्यालय उद्घाटन गरेर टिकट काट्न तयार हुनुस् भन्नुभयो’ पुनले भने, ‘तर, कुसुन्तीमा अहिले पानीजहाजको कार्यालयमा माकुराले जालो लगाएको छ ।’
माओवादी नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दा पनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको आरोप छ । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दा पनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको पुनले टिप्पणी गरे ।
पूर्वमन्त्री पुनले भने, ‘यतैतिर शंकर पोख्रेलजीले माओवादी केन्द्र, प्रचण्डको ग्रुपले अब चुनाव जित्ने जम्मा रोल्पा र रुकुम हो, तर त्यहाँबाट पनि हार्दैछन् भन्नुहुन्थ्यो । त्यो त दुई वर्ष पछिको कुरो हो, हेरौंला । तर, अहिले शंकरजी हटाइँदै हुनुहुन्छ । पृथ्वी सुब्बाजी हटाइँदै हुनुहुन्छ । केही हप्ता उहाँहरु मुख्यमन्त्री रहनुहुन्छ । मलाई माफ गर्नुहोला, म यत्ति भन्न बाध्य भएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण