बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

यस्तो छ दीपक मनाङेको अपराध यात्रा

शुक्रबार, १७ वैशाख २०७८, ०६ : ४७
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो।

सो आक्रमणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरुद्ध मुद्धा दायर भएको थियो। २०६९ सालमा मनाङेबाहेक उनीहरूले सफाइ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जेलबाट पनि गुन्डागर्दी गरेको, ठेकेदारहरूसँग पैसा असुल गरेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।

०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो। विभागले मनाङेसँग अवैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेर मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप