बूढानीलकण्ठमा गठबन्धनका लागि खोजियो ग्यारेन्टी, माधव नेपालमाथि शंकाको नजर !
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस नयाँ गठबन्धन निर्माणका साथै त्यसलाई सफल बनाउन तीव्र कसरतमा रहेको छ । सोहीअनुसार काँग्रेस सभापति शेरबहादुर देवासहितका नेताहरु माओवादी केन्द्र, नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग घनिभूत छलफलमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएपछि काँग्रेस देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् । देउवाले ओली सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिका साथ केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएको बुझिएको छ । जसअनुसार देउवासँग काँग्रेस र अन्तर पार्टीका नेताले भेटघाट गरिरहेको देखिन्छ ।
बुधबार आफ्नै निवास बूढानीलकण्ठमा भेट्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत दिन नसक्ने जवाफ दिएर फर्काएका थिए भने बिहीबार र शुक्रबार एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर गठबन्धन दरिलो बनाउन पहल थालेका थिए । यद्यपि गठबन्धन सफल बन्नेमा देउवा अझैपनि विश्वस्त भने हुन सकिरहेका छैनन् ।
काँग्रेस नेता एनपी साउदले विविध कारणले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको स्वीकारे । त्यसको मुल कारण एमालेको माधव कुमार नेपाल समूहको भूमिकामाथि उठेको प्रश्न नै हो ।

गठबन्धनको बाधक दबाब र मत विभाजन
साउदका अनुसार लगातार बूढानीलकण्ठमा चार दलको गठबन्धन निर्माणको कोशिस त भइरहेको छ । तर जसपाभित्रको मत विभाजन र नेता नेपालमाथिको आन्तरिक दबावले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको हो ।
‘जसपामा स्पष्ट विभाजन छ । माधव नेपाल प्रेसरमा पनि हुनुहुन्छ । यसले केही जटिलता देखिएको छ,’ साउदले रातोपाटीसँग भने ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बारेमा माधव नेपाल सकारात्मक भए पनि व्यक्तिगत प्रतिबद्धताले परिणाम दिन नसकेको साउदको बुझाइ छ ।

‘माधव नेपालले व्यक्तिगत प्रतिबद्धता जनाउनु भएको छ । तर उहाँले आफ्नो स्ट्रेन्थ र आइडेन्टिटीलाई सेफ गोलमा रुपान्तरण गर्दा उहाँसँग भएको टीम असुरक्षित हुन्छ । उहाँले एउटा सेटलमेन्ट खोजि राख्नुभएको जस्तो छ,’ साउदले रातोपाटीसँग भने, ‘ओलीजी हटाउने बारेमा माधवजी सकारात्मक नै हुनुहुन्छ । तर ओलीजी हटाउनका लागि उहाँहरुको भूमिका के हुने भन्ने कुरा प्रस्ट हुनसकेको छैन ।’
उनका अनुसार जसपा समेतले संस्थागत निर्णय गरेपछि मुलुक एउटा बाटोमा जान्छ । नभए स्थिति तरल नै रहन्छ ।
यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले माधव नेपाल पक्ष दोहोरो (देउवा र ओली) मा हुँदा विश्वासको वातावरण बन्न नसकेको संकेत गरे ।
‘सम्भावना सबै भयो भन्ने भयो । माधव नेपाल पक्षका दोस्रो तहका नेताले केपी ओली पक्षसँग छलफल गरिरहनुभएको छ । माधव नेपाल र केपी ओली भेट्ने कुरा पनि आइरहेको छ । हामीले भनेकै जस्तो हुने स्थिति पनि छैन, उनले भने, ‘त्यसैले राजनीति केपी ओलीतिरै जान्छ वा शेरबहादुर देउवा भन्नेमा फिप्टी फिप्टीको अवस्था छ । एकैतिर क्लियर संवाद भएको देखिएको छैन ।’
त्यसैले अब यस्तै हुन्छ भनेर क्लियर गर्न सकिने अवस्था नभएको उनले रातोपाटीसँग बताए ।
‘ओलीको कोर्टमा बल छ । ओलीले गर्नुभयो भने ठीकै छ गर्नुभएन भने हेरौँला भन्ने खालको माधव नेपालको नीति हो कि?,’ रिजालले भने । तर देउवा र माधव नेपालबीच बिहीबार भएको छलफलमा सकारात्मक नै कुराकानी भएको उनको भनाइ छ ।
राष्ट्रियसभामा काँग्रेस, माओवादी र माधव नेपाल पक्षबीच बनेको गठबन्धनका आधारमा सत्ता समीकरण बन्ने परिस्थिति निर्माण नभएको काँग्रेस नेताहरुको भनाइ छ ।
देउवा–माधवबीच ग्यारेन्टीको खोजी
नेपाल पक्ष र काँग्रेसले एक अर्कालाई पूर्णविश्वास गरिसकेको अवस्था छैन । किनभने एकले अर्कासँग ग्यारेन्टी खोजिराखेको अवस्था छ ।
‘माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिँदा केपी ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने ग्यारेन्टी खोजेको छ । हामीलाई पनि अविश्वासको प्रस्ताव हाल्ने हो भने अविश्वास पास हुन्छ भन्ने ग्यारेन्टी चाहियो,’ रिजालले भने । यस्तो पृष्ठभूमिमा बाटो क्लियर नहुँदा काँग्रेस धर्म संकटको अवस्थामा देखिएको छ ।
अहिलेकै अवस्थामा जसपा पनि नयाँ सरकार निर्माणको पक्षमा उभिन नसक्ने काँग्रेसको बुझाइ छ । आन्तरिक तथा बाह्य कारणले तत्काल जसपा नयाँ सरकार निर्माणको पक्षमा उभिन नसक्ने र त्यसका लागि ग्रीन सिग्नल आइनसकेको एक नेताले बताए ।
यस्तै काँग्रेस नेता रमेश लेखक भने आफूहरुले संसद पुनःस्थापना गरेर राजनीति ओलीको हातमा बुझाएकोजस्तो भएको टिप्पणी गर्छन् ।
‘ओलीजी कम्फटेबल पोजिसनमा हुनुहुन्छ । उहाँ विश्वासको मतका लागि जानुहुन्छ । विश्वास पाइहाल्नुभयो भने उहाँलाई आनन्दै भइगो । विश्वास पाउनु भएन भने चुनावमा जाने कोशिस गर्नुहुन्छ ,’ उनले भने ।
त्यो सफल होला भन्ने रातोपाटीको प्रश्नमा लेखकले भने, ‘अर्कोले बहुमत देखाउन सक्नुपर्यो नि त ? जसपाले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा पनि मत जाहेर नगर्ने अवस्था त देखियो नि ।’
ओलीसँग सहकार्यको सम्भावना सकियो
यद्यपि काँग्रेसमा ओली सरकारविरुद्ध जाने विषयमा दुई मत र द्विविधा नभएको लेखकको भनाइ छ ।

‘अहिलेको सरकारसँग हाम्रो दुरी बढ्दै गएको छ । अब हामीमा ओली सरकारका विरुद्धमा जाने कुरामा दुई मत र द्विविधा छैन । खाली बहुमत पुग्छ कि पुग्दैन भन्ने हो ,’ उनले भने ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा ओली निकट सरकारविरुद्ध उभिने निर्णय पनि सोही अनुसार भएको लेखकको भनाइ छ । ‘अब ‘ओलीजीसँग सरसल्लाह भएर पार्टी अगाडि बढ्छ कि भन्ने कुरा सकियो । अब कोर्स चेन्ज भइसक्यो । अहिले काँग्रेस सकेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने बाटोमा हो,’ उनले भने, ‘ओलीजीलाई विस्थापित गर्ने काँग्रेसले नीति अख्तियार गरिसकेको अवस्था छ । तर अब कतिसम्भव हुन्छ हेरौं ।’
साउदका अनुसार पनि अब ओलीसँग काँग्रेस मिलेर जाने अवस्था छैन । ‘हामी ओलीजीसँग मिलेर जान सक्दैनौं । प्रमुख प्रतिपक्षीबाट सत्ताधारी पार्टीसँग मिल्नु भनेको दुर्घटनाजस्तो हुन्छ,’ उनले भने ।
ओलीको नेतृत्वमा अब चुनावमा जाने कुरामा पनि नैतिक प्रश्न उठेको उनको साउदको भनाइ छ ।
‘हामी ओलीकै नेतृत्वमा चुनावमै जाने हो भने एमालेकै नेतृत्वमा चुनावमा गएको ठहरियो । त्यसले वैकल्पिक सरकार गठनका लागि जनतामा जाने विषयमा पनि हाम्रो नैतिकताको प्रश्न उठ्छ । चुनावमा जाने कुरा पनि सहज छैन,’ उनले भने ।
यता गठबन्धन निर्माण गरेर नयाँ सरकार बनाउन ओलीको भन्दा काँग्रेसलाई केही अप्ठ्यारो भएको नेता साउदको विश्लेषण छ ।
‘हामीलाई चार वटा शक्ति मिलाउनुपर्ने भयो । ओलीजीलाई जसपा वा माधव नेपाल मिलाए पुग्ने भयो । ओलीजीले पनि आफ्नो पार्टी एक गर्ने कोशिस गरिराख्नुभएको छ,’ साउदले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण