आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : पौडेल

आइतबार, २६ वैशाख २०७८, १६ : ५६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता  नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् ।  पूर्व उद्योगमन्त्री  जोशीको ४५ औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’मा उनले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताए ।  “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्किनेछ”, उनले भने । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्धी राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट काँग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । 
नेता पौडेलले उद्योगमन्त्री हुँदा जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभाग लगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गरे । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा काँग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए ।

काँग्रेस नेता प्रकाशमान सिंहले  जोशी पार्टीका नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । “जोशी मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता  हुनुहुन्थ्यो”, उनले भने । नेपाली काँग्रेस मात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता  जोशीमा रहेको उनको भनाइ थियो । नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न  जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए ।

प्रतिष्ठानका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताए ।  जोशीको योजनाअनुसार नै प्रतिष्ठानलाई अगाडि बढाइने उनको भनाइ थियो ।  प्रतिष्ठानका सचिव डा.भूपेन्द्र बस्नेतले  जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताए । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा.केदारभक्त माथेमाले  जोशी युवा जोश भएको जाँगरिलो नेता भएको बताए ।

स्व.जोशीकी धर्मपत्नी सपना जोशीले नेता जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताइन् ।   काँग्रेस नेता राजु राज जोशीले स्व.जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता  जोशी भएको उनको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मिएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप