आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संसद भवनमा खोपका लागि लडाइँ : झोला बोकेर हिँडे स्वास्थ्यकर्मी, रित्तै फर्के मन्त्री र सांसद (भिडियो)

आइतबार, ०२ जेठ २०७८, १९ : ०५
आइतबार, ०२ जेठ २०७८

संघीय संसद भवन नयाँ बानेश्वरमा दोस्रो चरणको कोभिड भ्याक्सिन लगाउने विषयमा विवाद भएपछि स्वास्थ्यकर्मीहरु खोप नलगाई कार्यालय फर्किएका छन् । खोप लगाउन बानेश्वर पुगेका मन्त्री, सांसद, कर्मचारी र सुरक्षाकर्मीका आफन्तले पनि खोप लगाउन पाएनन् ।

दुबै सदनका सांसद, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र संसदीय रिर्पोटिङ गर्ने पत्रकारहरूका लागि आइतबार खोप कार्यक्रम राखिएको थियो । तर, अन्य सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मीका नातेदारहरू पनि पुगेपछि खोप लगाउने विषयमा विवाद शुरु भएको हो ।

मापदण्ड बाहिरका अन्य व्यक्तिलाई पनि खोपको लाइनमा सहभागी गराएको भन्दै स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको हो । शुक्रबारदेखि सुरु भएको तीन दिने खोप कार्यक्रमअन्र्तगत अन्तिम दिन आइतबार खोप लगाउन चाहनेको भीड बढेको थियो ।  बिहान १० बजेदेखि खोप लगाउने भनिए पनि बिहान साढे ८ बजेदेखि नै कर्मचारी तथा सुरक्षाकर्मीका आफन्त संसद भवन छिरेर लाइनमा बसेका थिए ।

संघीय संसदका एक कर्मचारीले भने, ‘सांसद, संसदका कर्मचारी तथा सरकारका सचिवहरूलाई खोप दिने भनिएको संसद भवनभित्र हामी बिहान १० बजे आइपुग्दा त बृद्धबृद्धाहरुको लामो लाइन लागिसकेको थियो । कर्मचारी र सुरक्षाकर्मीले आफन्त, बुवा आमालाई भित्र छिराएर लाइन लगाइसकेका रहेछन् ।’

तोकिएका बाहेक अन्य क्षेत्रबाट ठूलो भिड जम्मा भएपछि जनस्वास्थ्य कार्यालयले खोप लगाउन रोकिदिएको ती कर्मचारीले सुनाए । बाहिरका मान्छेलाई सुरक्षाकर्मीहरुले संसद भवनमा छिराइदिएपछि समस्या उत्पन्न भएको उनले बताए ।

बिहानैदेखि लाइनमा बसेर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि कर्मचारी तथा सुरक्षाकर्मीका आफन्त आक्रोशित बनेका थिए । उनीहरु प्रश्न गरिरहेका थिए,  ‘के सांसदहरुले मात्र बाँच्नुपर्ने ? हामीले चाँहि खोप लगाउन नपाउने ?’            

आइतबार सुरुमा १ सांसदसहित अन्य ६० जनालाई खोप लगाएपछि स्वास्थ्यकर्मीले खोप लगाउन स्थगित गरेका छन् । खोप लगाउने ठाउँमा कर्मचारीका आफन्त एवं जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति थियो ।

संघीय संसद सचिवालयका कर्मचारी तथा सांसदहरुले जति खोप पुग्छ, त्यति लगाइदिन आग्रह गर्दा पनि स्वास्थ्य कार्यालय काठमाडौंका स्वास्थ्यकर्मीले माथिबाट सांसद, संसदीय कर्मचारीलाई मात्र खोप लगाउन भनेकाले सबैलाई लगाउन नसक्ने बताइरहेका थिए ।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले खोप लगाउन रोकेपछि संघीय संसद सचिवालय अन्तर्गतको स्वास्थ्य शाखाका डा.पुष्प रिजाल स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबहादुर खड्कालाई भेट्न पुगेका थिए । उनलाई खोप लगाउन पुगेहरुलाई खोप लगाइदिन डा.रिजालले आग्रह गरे पनि खड्काले अन्य सर्वसाधारण वृद्धवृद्धालाई ९ गते खोप लगाउन पाउने भन्दै अहिलेका लागि सांसद र संसदका कर्मचारीलाई मात्र खोप लगाउने भन्दै फकाइदिए । आजका लागि ८ सय खोप माग गरे पनि जनस्वास्थ्य कार्यालयले ३ सय डोज खोप मात्रै पठाएको थियो ।

खोप नलगाई फर्किए मन्त्री र सांसद

खोप लगाउनका लागि नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेका मन्त्री तथा सांसदहरु विवादपछि खोप नलगाई फर्किए । संसद भवन पुगेका सबैलाई खोप लगाउन नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरु जीवनराम श्रेष्ठ, कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिना स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आग्रह गर्न स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीसँग भेटेपछि रातोपाटीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘हामी स्वास्थ्य मन्त्रीलाई भेट्न गएका थियौं । उहाँले अहिले खोप अभाव भएकाले सबैलाई लगाउन नसकिने बताउनुभयो । हामीले अहिले सांसद र कर्मचारीलाई लगाउन खोजेको अरु सर्वसाधारण पनि आएको हुँदा हामीसँग त्यो कोटा नभएको बताउनुभयो । केही दिनभित्र पहिलो डोज लगाउनेलाई दोस्रो डोजको व्यवस्था गर्ने बताउनुभएको छ ।’

बानेश्वरमा भूमि व्यवस्था तथा सहकारी मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पनि खोप लगाउन केहीबेर कुरेर बसिन् । खोप स्थगित गरेर बसेका स्वास्थ्यकर्मीले मन्त्री पुगेपछि उनलाई मात्र खोप लगाउन आग्रह गरे । तर, मन्त्री तुम्वाहाङ्फे धेरै बृद्धबृद्धा लाइनमा कुरेर बसेकाले उनीहरुले नलगाई आफूले कसरी लगाउनु भनेर खोप नलगाई फर्किन् ।

उनले भनिन्, ‘खोप लगाउन यस्ता बृद्ध बाआमाहरु बस्नुभएको छ । उहाँहरुलाई नलगाई पहिला मैले कसरी लगाउनु ? पहिला उहाँलाई खोप लगाइदिनु सरकारको दायित्व हो । उहाँहरुलाई पहिला लगाइदिनुहोला, त्यसपछि म लगाउँछु ।’

मन्त्री आएपछि विवाद मिल्ला भनेर आश गरेकाहरु मन्त्रीले यति भनेर खोप नलगाई हिँडेपछि झन् अन्योलमा परेका थिए । तर, जनस्वास्थ्य कार्यालयले रुटिनमा नपरेका र कार्ड नभएकालाई खोप नलगाउने अडान राखेपछि खोप लगाउने काम अघि बढेन ।

हामीलाई अब खोप नलगाउनु भन्ने माथिको आदेश छ, जसलाई खोप लगाउनु भनेर पठाएको छ उनीहरुलाई बाहेक अरुलाई लगाउन सक्दैनौँ भनेर झोला बोकेर कार्यालय फर्किए । 

सर्वसाधारणको आक्रोश : केपी ओलीमात्र बाँच्नुपर्ने ?

खोप लगाउन बिहानै बानेश्वर पुगेका कर्मचारी परिवारका सदस्य खोप लगाउन नपाउने भएपछि आक्रोशित भएका थिए । उनीहरुले  हामी मान्छे हैनौं ? हामी जनावर हौं ? भन्दै प्रश्न गरे । खोप लगाउन पुगेकी एक महिलाले आक्रोशित हुँदै भनिन्, ‘के हामीले भ्याक्सिन लगाउन नपाउने ? प्रधानमन्त्री केपी ओलीमात्र बाँच्नुपर्ने ?’

संसद भवनमा असम्बन्धित मान्छे छिरेको भन्दै सुरक्षाकर्मीले माइकिङ गरेर हटाउन खोज्दा पनि उनीहरु मानिरहेका थिएनन् । कोरोना संक्रमण फैलिने जोखिमयुक्त समयमा पनि संसद भवनको ल्होत्से हल तथा बाहिर ठेलम ठेलको लाइन थियो ।

फागुन २३ गते पुनस्र्थापित प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा त्यसको २ दिनअघि सांसद, कर्मचारीलाई पहिलो चरणको खोप लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोज खोप लगाइँदै थियो ।

शुक्रबार १९० सांसदसहित ७७९ जना र शनिबार ४ जना सांसदसहित ९५० जनालाई दोस्रो डोज खोप लगाइएको थियो । आइतबार खोप अभावका कारण लगाउन नसकिएको भन्दै संघीय सांसद तथा कर्मचारीलाई छिट्टै खोपको व्यवस्था गरिने संसद सचिवालयले जनाएको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप