शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बैंकर अनिल शाहको अपिल : यो कसैको मुख हेरेर बस्ने समय होइन

सोमबार, ०३ जेठ २०७८, १५ : १३
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । बैंकर अनिल केशरी शाहले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले मुलुक कोरोना भाइरसको दोस्रो लहरका कारण निकै कठिन परिस्थितिबाट गुज्रिरहेको यो अवस्थामा कसैको मुख हेरेर नबसी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । 

शाहले एक भिडियो अपिल सार्वजनिक गर्दै महामारीको यस कठिन समयमा पनि चिकित्सक नर्स लगायत सुरक्षा निकाय जसरी महामारीसँग लडिरहेका छन् त्यसमा सबैले साथ र सहयोग गर्न जरुरी रहेको बताएका छन् । उनले नागरिकले कुनै पनि आर्थिक गतिविधिका लागि समस्या भोग्न नपरोस् भनेर आफ्ना कर्मचारी र आफै पनि विभिन्न शाखाहरु मार्फत सेवा दिन तल्लिन रहेको र यसमा स्वास्थ्यका मापदण्ड पालना गरी सहयोग गर्न सबैमा अपिल गरे । 

शाहले अगाडी भनेका छन्, ‘म हात जोडेर सबैलाई आग्रह गर्दछु कि आजको यस अवस्थामा आएर हिजो यो हुनुपर्दथ्यो त्यो हुनुपर्दथ्यो, यसले यो गरेन त्यो गरेन भनेर नबसौँ । सबैले आ–आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो गरौं । विगतमा रुमलिनु भन्दा आजको अवस्थाबाट कसरी पार पाउने बारे उपाय खोजौँ । आज के गर्नुपर्छ भन्नेमा सबै केन्द्रित हौं ।’ 

आफ्नो स्वास्थ्यको जिम्मेवार आफै भएकाले कसरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने बारेमा सचेत हुन शाहको आग्रह छ । उनी अब सरकारको वा कसैको मुख हेर्नुभन्दा पनि आफैलाई हेरेर अगाडि बढ्नुपर्ने अवस्था आएकाले आलोचनामा अल्झिनुभन्दा आफै जिम्मेबार बनेर अगाडि बढ्नु पर्ने बताउँछन् । 

अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटर खोज्दै ज्यान गुमाउनुपर्ने अवस्था भएकाले अति आवश्यक नपरी बाहिर ननिस्किन पनि उनले आग्रह गरे । 

शाहले भनेका छन्, ‘कोरोनाबाट बचाउने मुख्य यन्त्र नै मास्क भएकाले मास्क लगाऔँ । सामाजिक दुरी कायम गरौं, कुनै कामका लागि हतार नगरौं । आज डाक्टर, नर्स, पुलिस आर्मी जस्तै हामी पनि जनतालाई सेवा दिन बैंक आएका छौं । तपाई सकेसम्म बाहिर ननिस्किनुस्, घरमै बस्नुस् । बैंकका कामको लागि सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्नुस् । आउनै परे पनि भिडभाड नगरी सामाजिक दुरी कायम गरिदिनुस् । यति गर्नुभयो भने हामी पनि सुरक्षित रहन्छौं तपाई पनि सुरक्षित रहनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप