आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अक्सिजन प्लान्ट स्थापनामा राष्ट्र बैङ्कको सहुलियत, निजी क्षेत्र उत्साहित

भन्छन्, ‘अब अक्सिजन व्यवस्थापनमा सहज हुन्छ’
बुधबार, ०५ जेठ २०७८, १६ : ४६
बुधबार, ०५ जेठ २०७८

राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दिएको राहत र सहुलियत प्रति निजी क्षेत्र खुसी देखिएका छन् । स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न आधारदरमै कर्जा उपलब्ध गराउने नेपाल राष्ट्र बैङ्कको निर्णयप्रति उद्योगीहरु उत्साहित बनेका हुन् ।

​अक्सिजन अभाव चुलिएको भन्दै  अधिकांश अस्पतालले नयाँ कोरोना संक्रमितलाई सेवा दिन नसक्ने भन्दै धमाधम विज्ञप्ति निकालिरहेको बेला राष्ट्र बैङ्कको यो निर्णयले आम जनतालाई समेत राहत दिएको छ । भर्ना भएका सबै बिरामीलाई अक्सिजन आवश्यक पर्ने देखिएको तर अक्सिजनको मौज्दात नहुँदा थप संक्रमितको उपचार गर्न सकिने अवस्था नरहेको अस्पतालहरुले बताउँदै आएका छन् ।

अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थामा यस्तो निर्णय आउनु निकै सकारात्मक रहेको उनीहरुले बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई यो व्यवस्थाले अक्सिजन प्लान्ट स्थापना गर्न हौसला मिलेको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राष्ट बैङ्कको यस नीतिले स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने बताए । उनले भने, ‘सरकारको तर्फबाट र निजी क्षेत्रको तर्फबाट पनि प्लान्ट बढाउनुपर्छ भनेकाले राष्ट्र बैङ्कको यो कदम सह्रानिय छ ।’

यता नेपाल उद्योग परिसंघले पनि विज्ञप्ति नै निकालेर यस्तो खालको प्रोत्साहनले अक्सिजन उपलब्धताको दीर्घकालीन व्यवस्थापन गर्न सहयोग पुग्ने बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि  ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ । 

निजी क्षेत्रकै अर्को छाता संगठन नेपाल चेम्बर अफ कमर्शले पनि राष्ट्र बैङ्क मार्फत सरकारले गरेको यो व्यवस्थाले झण्डै  तीस वटा उद्योग लाभान्वित हुने जनाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सहुलियत ब्याजमा प्लान्ट स्थापना गर्न पाएपछि अक्सिजनको हाहाकार हट्ने बताए । मल्लले निजी क्षेत्रको  काठमाडौँमा १० वटा अक्सिजन प्लान्ट र काठमाडौँ बाहिर १९ वटा रहेको बताए । केही सरकारी अस्पतालको भने आफ्नै प्लान्ट रहेको छ । अहिले बैङ्कहरुको औसत आधारदर ६.८४ प्रतिशत छ । यहि दरमा अक्सिजन प्लान्ट स्थापना गर्ने अस्पताल र उद्योगले ऋण पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप