मतदानको समय सकियो, ३३८ भोट खस्यो, १० अनुपस्थित
राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४८ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका ११० र स्थानीय तहका २३८ गरी ३४८ जना मतदातामध्ये ३३८ जनाले मात्रै मतदान गरेका हुन् ।
अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तीनजना हुन् । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो । यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहिन् । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।
स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहे । उनीहरु काँग्रेसका हुन् । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि अनुपस्थित रहे । उनी नेमकिपाका हुन् ।
उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानको नतिजा आजै आउने बताइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिनेछ ।
प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ । उनका अनुसार आज साँझसम्म नतिजा आइसक्नेछ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो । मतदान कोरोना कहरका कारण आवश्यक सबै मापदण्ड अपनाएर गरिएको थियो । मतदानका लागि कोभिड सङ्क्रमित मतदातालाई भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश दिइएको थियो भने अन्यले पश्चिम गेटबाट प्रवेश पाएका थिए ।
मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइएको थियो । सुरुमा पीसीआर रिपोर्ट अनिवार्य भनिएपनि पछि रिपोर्टबिनै पनि मतदान गर्न दिइने निर्णय भएको थियो ।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा. देवकोटालाई समेत भोट हालेकाले कसको जित हुन्छ, अहिल्यै भन्न नसकिने नेताहरु बताउँछन् ।
नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण