बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदानको समय सकियो, ३३८ भोट खस्यो, १० अनुपस्थित

बिहीबार, ०६ जेठ २०७८, १५ : १३
बिहीबार, ०६ जेठ २०७८

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  

राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीबार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४८ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका ११० र स्थानीय तहका २३८ गरी ३४८ जना मतदातामध्ये ३३८ जनाले मात्रै मतदान गरेका हुन् ।

अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तीनजना हुन् । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो । यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहिन् । उनी नेकपा माओवादी केन्द्रकी हुन् । 

स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहे । उनीहरु काँग्रेसका हुन् । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि अनुपस्थित रहे । उनी नेमकिपाका हुन् ।

उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ ।  हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानको नतिजा आजै आउने बताइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिनेछ ।

 प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ । उनका अनुसार आज साँझसम्म नतिजा आइसक्नेछ । 

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो । मतदान कोरोना कहरका कारण आवश्यक सबै मापदण्ड अपनाएर गरिएको थियो । मतदानका लागि कोभिड सङ्क्रमित मतदातालाई भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश दिइएको थियो भने अन्यले पश्चिम गेटबाट प्रवेश पाएका थिए ।

मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइएको थियो । सुरुमा पीसीआर रिपोर्ट अनिवार्य भनिएपनि पछि रिपोर्टबिनै पनि मतदान गर्न दिइने निर्णय भएको थियो ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा. देवकोटालाई समेत भोट हालेकाले कसको जित हुन्छ, अहिल्यै भन्न नसकिने नेताहरु बताउँछन् । 

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप