शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिजोका कुरा : नागरिकता चकलेट होइन–ओली, बुहारीले हैरान खेलाए– कृष्णगोपाल

मङ्गलबार, ११ जेठ २०७८, ०८ : ३२
मङ्गलबार, ११ जेठ २०७८

सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि त्यसका आलोचकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका दुईवटा बेग्लाबेग्लै भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । भिडियोमा ओलीले भनेका छन्– नागरिकता चकलेट होइन । श्रेष्ठले भनेका छन्– नागरिकता बसको टिकटजस्तो होइन, बुहारीहरूले हैरान खेलाइरहेका छन् ।

प्रधानमन्त्री ओलीले गत ०७४ सालको चुनावअघि लुम्बिनीमा गरेको भाषणमा भारतबाट बिहे गरेर आएका बुहारीहरूलाई तत्कालै नागरिकता दिने व्यवस्थाको विरोध गरेका थिए । श्रेष्ठले संसदीय समितिमा बोल्दा ‘बुहारीहरूले हैरान पारेको’ बताएका थिए । ओली र श्रेष्ठ दुबै नेताहरु बुहारीहरूमाथि खनिएका थिए ।

चुनावअघि प्रतिपक्षमा रहेका बेला ओलीले सिद्धार्थनगर नगरपालिकामा भाषण गर्नेक्रममा नागरिकताबारे बोलेको कुरा उनकै शब्दमा–

‘नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने’

उहिले–उहिले राजा-रानीको जन्म दिवसमा केटाकेटीलाई स्कुलमा भेला गरेर चकलेट बाँडिन्थ्यो । नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने ।

हरेक नेपाल जनतालाई नागरिकता दिनुपर्छ, सरकारले दिन्छ र दिइनेछ नागरिकता । कुनै समस्या छैन । बैबाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन, हामी आउनेबित्तिकै उसै बेला नागरिकता दिन्छौं । तर, मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको यत्रो रडाको के छ भने हामीले उताबाट ल्याएका बुहारीहरूलाई पाँच वर्ष किन पर्खिने ? बिहे गरेको भोलिपल्ट मन्त्री बनाउनु पाउनुपर्छ ।

अहिले पनि १२/१३ जना बुहारीहरू सांसद हुनुहुन्छ । एउटी बुहारी मन्त्री हुनुहुन्छ । नेपाली काँग्रेसको नेता हुनुहुन्छ । ज्वाइँहरूको त कुरै नगरौं, भरमारै छन् । अब यति त भयो–भयो नेपाली नै हुनै नपाउने, उत्तिखेरै ल्याउनुपर्ने । माग यस्तो के हो यो ? त्यसकारण यो पनि ठीक छैन । यो स्वीकार्न सकिँदैन ।

संसारमा कहीँ पनि उडेर आइपुग्नेवित्तिकै नागरिकता दिइँदैन । कहीँ पनि  हुँदैन संसारमा । तर, नेपालमा आइपुग्नेवित्तिकै  दिने त गरि नै सकेका छौं । त्यो मात्रै होइन अब, आइपुग्नेवित्तिकै सांसद, मन्त्री पनि बनाउनुपर्ने ।

अब यो सिद्धार्थनगर नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ । एउटा केटासँग बिहे भयो भनिन्छ अनि नागरिकता दिइन्छ, विवाह दर्ता गरेर । त्यसपछि उम्मदेवार बनाइन्छ । यस तरिकाले चल्ने हो ? यहाँ नेपाली छैनन् ? नेपालीले गर्न सक्दैनन् ? यहाँका समुदाय छैनन् ? त्ययसकारण हामी कुनै पनि कुरामा भ्रममा पर्नुहुँदैन ।

अब, अहिलेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले संसदको राज्य व्यवस्था समितिमा नागरिकताबारे बोलेका कुरा सुनौं –

‘बुहारीले कत्ति हैरान खेलाइरहेको छ’

एक सुकाको सिँदुर लिएर यस्सो सिँदुर राख्न भ्याउँदैन, अर्को हातबाट नागरिकता बुझाइरहेका छौं । संसारमा कहाँ छ यो ? संसारमा कहाँ छ यो ? जो बुहारी भएर आउँछन् । एक–दुईवटा बुहारीले कत्ति हैरान खेलाइरहेको छ, उदाहरण त छँदै छ नि । त्यसकारण नागरिकताको सवाल त्यति सहज र हल्का, बसको टिकट काटेजस्तो होइन ।

नागरिकता भनेको राष्ट्र रहने र राष्ट्र नरहने भन्ने विषय हो । एउटा आमाले सन्तान जन्माएको जस्तै हो नागरिकता भनेको । नागरिकताको सवालमा देश रहने कि नरहने भन्ने स्थितिमा पुग्न सक्छ । हामीले मरिसस भन्ने देश पनि देखिराखेका छौं । हामीले फिजी भन्ने देश पनि देखिरहेका छौं । संसारकै यस्ता देशहरु सबैको नाम नलिऔँ ।

त्यसैले, हामी उत्तरमा चीन, दक्षिणमा भारत डेढ अर्ब र दक्षिणमा एक अर्ब ३७ करोड जनसंख्या भएको दुई देशको बीचको एउटा स्वतन्त्र र सार्वभौम मुलुक नेपाल हो । साँच्चै आत्मा साक्षी राखेर नेपाली आत्मा म अहिले तपाईहरुसमक्ष प्रकट हुँदैछु ।

सभापतिज्यू, जसरी महिलाले आफ्नो सन्तान जन्माउँदाखेरि  निश्चित समय पार गरेर सन्तान जन्माउँछन्, ठीक ढंगले डेलिभरी दिनोस्, नारीले आमाले बच्चा जन्माउँछिन् ।  डेलिभरीमा ध्यान दिएन भने, त्यो डेलिभरी, प्रश्रव वेदनालाई ठीक ढंगले ट्रिटमेन्ट भएन भने आमा मर्न सक्छ । बच्चाको कुरा नगरौं । बच्चा जन्माउने आमाको मृत्यु हुन सक्छ । यसलाई हामीले अलिकति गम्भीरतैपूर्वक लिनुपर्छ । भन्ने मलाई लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप