बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

मङ्गलबार, १८ जेठ २०७८, ११ : ३३
मङ्गलबार, १८ जेठ २०७८

उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । 

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । 

तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । 

डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । 

सो कुरा जिल्लादेखि प्रदेश र सङ्घ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरुले सहयोग पाउन सकेनन् ।” 

उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधिलगायतका सामग्री पाएका छैनन्। 

पटकपटक सङ्घ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिइएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेको दुखेसो छ । 

“चाँडोभन्दा चाँडो माग पूरा गर्न सरकारलाई माग गर्छौँ”, डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भने । 

स्थानीय तहले तत्काल ४०० देखि ४५० केजी औषधिका साथै आवश्यक किट हेलिकोप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पठाइदिन आग्रह गरेका छन् । 

खच्चडमार्फत उपल्लो डोल्पा लैजाँदा धेरै समय लाग्ने हुँदा हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप