मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नदीको बहाव बढेपछि पुल निर्माण रोकियो

बिहीबार, २० जेठ २०७८, १३ : ४८
बिहीबार, २० जेठ २०७८

गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो ।  तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

“पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उनले भने, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ । 
असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताए । सिग्देलका अनुसार तनहुँ तर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पा तर्फको काम हुन बाँकी छ ।  

दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । 

पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण हुन लागेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । 

वृद्धको उद्धार

तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले उद्धार गरेका छन् । गाउँपालिकाभित्र दुई दशक अगाडिदेखि बसोबास गर्दै आएका ती वृद्धको अध्यक्ष थापाले उद्धार गरेका हुन् ।

एक्लै बस्दै आएका कृष्णबहादुर न्यौपाने केही समयदेखि बिरामी भएपछि थापा आफै घरमा पुगेर उनको उद्धार गरेका छन् । ती वृद्धलाई मानव सेवा आश्रममा पठाइएको छ । देवघाटस्थित पुरानो झोलुङ्गे पुलमा बसेर दैनिक गुजारा गर्ने न्यौपाने दोहोरो कुरा गर्न नसक्ने, काम कम सुन्ने, आँखा पनि कम देख्ने गर्थे । उनी २० दिनदेखि बिरामी भएपछि घरमा नै बस्दै आएका थिए ।

वृद्धसँग रु पाँच हजार रहेकाले उक्त रकम पनि आश्रमलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकास्थित दुई औषधि पसल बन्द गराएको छ । मापदण्ड विपरित सेवा दिएपछि प्रशासन कार्यालयले दुई औषधि पसल बन्द गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार धर्म सेवा मेडिकल र फेमिली स्वास्थ्य क्लिनिक बन्द गराइएको छ । अनुगमनका क्रममा डाक्टर बिना बिरामी राखेर उपचार गरेको पाइएपछि ती मेडिकल बन्द गराइएको बरालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप