आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुनको शुरुवातमै बाढीपहिरो : ७ जनाको मृत्यु, २५ बेपत्ता

बिहीबार, ०३ असार २०७८, १८ : ३४
बिहीबार, ०३ असार २०७८

–नारायण ढुंगाना
मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना हुन थालेका छन्  । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । 

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगर सहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत गर्यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेल पहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको सुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ । 

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ । 

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क विहीन रहेको जानकारी दिए । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक÷एक जना वेपत्ता छन् । 

सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर  विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार पाटनमा गाईवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।

बाढी पहिरोले १२९ घर बगायो

मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमारी तामाङले जानकारी दिए । उनका अनुसार  बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

उद्धार र राहत वितरण जारी 

मनाङको चामे र ताल गाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताल लगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ । 

यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ ।

सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ ब्यागलगायत सामान काठमाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुशल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई  दुध पोखरी माविमा ल्याएर राखिएको  आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप