सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साना व्यवसायी तथा मजदुरको व्यथा : ऋणमाथि ऋणको भार

बिहीबार, ३१ असार २०७८, १० : ३८
बिहीबार, ३१ असार २०७८

कोरोनाको पहिलो लहरमै थलिएका साना व्यवसायी तथा निम्न वर्गका मजदुरको अवस्था निकै नाजुक बनेको छ । लकडाउन तथा निषेधाज्ञाको समयमा कामविहीन भएका उनीहरु अहिले ऋणमा डुबेका छन् भने कोरोना महामारीकै कारण अझै राम्ररी काम गर्न नपाएका कारण थप चिन्तित छन् ।

थोरै पुँजीबाट सानो व्यवसाय गरेका तथा दैनिक ज्यालादारी कामबाट परिवारको गुजारा चलाउँदै आएका उनीहरु महिनौंसम्मको लकडाउनले चरम आर्थिक संकटमा पुगे । साहु महाजन तथा इष्‍टमित्रसँग ऋण काढेरै जीविकोपार्जन गर्दै आएका उनीहरु जनजीवन सहज बन्ला र ऋण तिर्न सकिएला भन्ने आशमा थिए ।

गत वैशाखपछि दोस्रो चरणको संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि भने उनीहरु थप समस्यामा परे ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिर छेउकै अङ्गराज सागरको किनारमा ढुङ्गाको सिलौटा, जाँतो लगायतका सामग्रीहरु बनाएर लामो समयदेखि परिवारको गुजारा चलाउँदै आएका ३० वर्षीय चिन्टुकुमार थबैलाई अहिले घर खर्च जुटाउनै समस्या छ । कोरोना महामारीपछिको आर्थिक संकटले ८ जना परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ता बढाएको उनले बताए ।

उनी भन्छन्, ‘कोरोनाको नाममा भएको लकडाउनका कारण हामीजस्ता निम्न वर्गका परिवारले खाद्यान्न अभाव झेल्नु प¥यो, दुईछाक टार्नकै लागि पनि ऋण लिनुपर्ने अवस्था आयो ।’

कोरोना महामारीपूर्व दैनिक सरदर एक हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनी कोरोना महामारीपछि लकडाउन तथा निषेधाज्ञाका क्रममा आम्दानीविहीन बने । निषेधाज्ञा केही खुकुलो भएसँगै दैनिक सरदर चार सय रुपैयाँ कमाइ भइरहेको बताउने उनले त्यति रकमले ८ जनाको परिवारलाई खानसमेत नपुग्ने जनाए ।

‘आम्दानीको अरु कुनै बाटो छैन, दिनमा चार÷पाँच सय रुपैयाँमात्र खानामै खर्च हुन्छ,’ उनले भने, ‘लकडाउनका बेला लिएको ऋण कसरी तिर्ने ? ब्याज बढेको बढ्यै छ ।’

जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने कासिम अन्सारी १० वर्षदेखि अङ्गराज सागरसँगै जोडिएको फुटपाथमा कपडा बेच्दै आएका छन् । उनको ६ सदस्यीय परिवारको गुजारा यही व्यापारमा निर्भर छ ।

कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी भएपछि कासिमको परिवार पनि संकटमा प¥यो । गरिखाने व्यापार बन्द भएपछि जीविकोपार्जनमै समस्या उत्पन्न भएको उनको भनाइ छ ।

घरमा कमाउने भनेकै ममात्र हुँ,’ उनले भने, ‘निषेधाज्ञापछि व्यापार ठप्प भयो तर सबैको पेट भर्नैपर्ने चुनौतीले चिन्तामात्र बढाएन ऋणमाथि ऋणको भार बढ्न थाल्यो ।’

कासिमका ३ छोरी र १ छोरा छन् । छोरालाई उनले मदरसाको होस्टेलमा राखेका छन् । छोरीहरूलाई सामुदायिक विद्यालयमा पढाउँदै छन् । व्यापार नचल्दा छोरालाई पढाइरहेको मदरसामा पैसा बुझाउन नसकेको उनको भनाइ छ । छोराको पढाइका लागि कासिमले वर्षको २० देखि २५ हजार रुपैयाँसम्म मदरसालाई बुझाउने गरेका छन् ।

गत वर्ष निषेधाज्ञाले आर्थिक रुपमा थला परेका उनी त्यही बेलादेखि ऋणमा छन् । कोरोनाको पहिलो लहरमा सरकारले निरन्तर ६ महिनासम्म लकडाउन गरेपछि गुजाराकै लागि साहुबाट ऋण लिएका उनले त्यो ऋण अझै तिर्न सकेका छैनन् ।

‘पोहोर ६ महिनासम्म बन्द हुँदा परिवार पाल्न ८० हजार रुपैयाँ ऋण लिनु परेको थियो,’ उनले भने, ‘ऋण त तिर्न सकिनँ, यस वर्ष फेरि त्यस्तै भयो, अब कसरी धान्न सकिएला र ?’

जानकी मन्दिरको प्राङ्गणमै जनकपुरधाम उपमहानगरपालिका–५ बस्ने वीरेन्द्र भण्डारी पनि फुटपाथमा फूलमाला बेचेर गुजारा गर्दै आएका छन् ।

कोरोना संक्रमणका कारण लामो समय लगाइएको लकडाउन तथा निषेधाज्ञाले उनको आर्थिक अवस्था पनि दयनीय बनेको छ ।

वैदेशिक रोजगारका लागि मलेसियासमेत गएका उनी गत वर्ष कोरोना संक्रमणकै बीच सम्झौता पूरा नहुँदै कम्पनीले फर्काइदिएको बताउँछन् । मलेसियाबाट फर्किएपछि उनले पुर्ख्यौली काम फूलमालाको व्यापार गर्न थाले ।

सन् २०२० जनवरी महिनामा घर फर्केका भण्डारीले वैदेशिक रोजगारीमा जाने क्रममा लिएको ५० हजार रुपैयाँ ऋणसमेत बुझाउन सकेका छैनन् ।

फूलमाला बेचेर ४ जनाको परिवार चलाउँदै आएका भण्डारीका लागि निषेधाज्ञापछि आम्दानीको सबै स्रोत नै बन्द भयो । उनलाई पनि परिवार पाल्न ऋण काढ्नु प¥यो । विगतमा लिएको ऋण बुझाउन नसकेका उनी गुजारा चलाउनका लागि ऋणमाथि ऋण थप्दै गएका छन् ।

भण्डारीले भने, ‘ऋण नलिइकन परिवार चलाउने अर्को विकल्प नै छैन, परिस्थिति सामान्य हुँदै गए त तिर्न सकिएला कि !’

यी त प्रतिनिधि पात्र मात्र हुन् । जनकपुरका सडकमा कुल्फी, आइसक्रिमदेखि लिएर सातु, सर्बत बेच्दै हिँड्ने साना व्यापारी, जुत्ता पालिस गर्ने, छाता मर्मत गर्ने कामदारहरु, ठेला तथा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूरहरु लकडाउन र निषेधाज्ञाका कारण आर्थिक मारमा परेका छन् ।

मुलुकमा तीन तहका सरकार रहे पनि आफूहरुलाई मर्का पर्दा कुनै सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ । गत वर्ष लकडाउनका समयमा ८÷१० किलो चामल, दाल, तेलसहितका राहत सामग्री पाए पनि त्यसयता आफूहरुलाई परेको समस्याबारे कसैले सोधखोजसमेत नगरेको उनीहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप