शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई, संघीयता खारेज गर्न रवीन्द्रको प्रस्ताव

सोमबार, ११ साउन २०७८, २० : १२
सोमबार, ११ साउन २०७८

आज २०७८ साउन ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, माधव नेपाल पक्षले भनाभनलाई त्यागेर पार्टी एकतामा जोड दिने, संघीयता खारेज गर्न रवीन्द्र मिश्रको प्रस्ताव, निषेधाज्ञा पालन हुनै छाड्यो, पठाओ राइडरहरु सडकमा उत्रिए, कोरोना संक्रमण ह्वात्तै बढ्यो लगायत छन् ।

१. जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताको विकल्प
जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले सोमबार सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको ‘हेड काउन्ट’ गरी बहुमत सदस्य रहेको उपेन्द्र पक्षलाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेको हो । आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खोलिदिएको छ ।


२. आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय 
नेकपा एमालेको माधव नेपाल पक्षले अब आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने भएको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालले अध्यक्षका रुपमा काम गर्ने गरी आगामी महाधिवेशनसम्म जान ओली पक्षले राखेको प्रस्तावलाई एकताको आधार बनाउन सकिने भन्दै छलफल गरेको थियो ।

३. जसपा विवादमा रेशम चौधरी तटस्थ, उपेन्द्र पक्ष र महन्थ पक्षका नेताहरुको यस्तो छ तर्क
जसपाको आधिकारिकता सम्बन्धी विवादमा रेशम चौधरी तटस्थ रहेका छन् । जेलबाट सोमबार निर्वाचन आयोगमा पुगेका चौधरीले आफू कसैको पक्ष वा विपक्षमा लाग्न नचाहेको बताए । महन्थ ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले आफूहरु अब जनतामा जाने प्रतिक्रिया दिए । सोही पक्षका अर्का सदस्य जितेन्द्र सोनलले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अहिले नै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । उपेन्द्र यादवले भने अब छिटै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताए ।

४. संघीयता खारेजी गर्दै धर्मबारे जनमत संग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले बहसका लागि एक दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।

 

५. स्वास्थ्य मन्त्रालयको प्रक्षेपण– आगामी पाँच महिनामा दुई लाख सक्रिय संक्रमित थपिने, तेस्रो लहर असोज १५ आसपास
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आगामी असोजको १५ गते आसपास आउन सक्ने आँकलन गरेको छ । मन्त्रालयले आगामी पाँच महिनामा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब दुई लाख थपिने प्रक्षेपणसमेत गरेको छ ।

 


६. निषेधाज्ञा नाममात्रको, पालना हुनै छाड्यो
सोमबारबाट लागू हुने गरी काठमाडौं उपत्याकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरे पनि निषेधाज्ञामा उल्लेखित बुँदा पालना हुन छाडेको छ । नेकपा एमालेका नेता योगेश भट्टराईले सोमबार संसदीय समितिको बैठकमै राजनीतिक दलका भ्रातृ संगठनहरु जुलुसमा निस्कन थालेको भन्दै कोरोनाको तेस्रो लहर छिटै फैलन सक्ने चेतावनी दिए ।


७. प्रचण्ड निवासमा पुगे काँग्रेस नेता रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पुगेका छन् । पौडेलले प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।


८. पठाओ राइडरहरु सडकमा उत्रिए
ट्याक्सी चालकहरुले आफूहरुमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको भन्दै पठाओ राइडरहरु सोमबार सडकमा उत्रिएका छन् । उनीहरुको बाइक ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो ।


९. तीन हजार ४२१ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने एक हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । 



१०. र, यो पनि 
केही दिन यता क्रमिक रुपमा उकालो लाग्दै आएको नेप्से परिसूचक सोमबार ८.२४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा झरेको छ । 


कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन् । 


ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामूनि रहेका निश्चित जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउन पहल गर्ने बताएकी छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप