बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मेलम्ची फेरि अनिश्चित : अब विज्ञहरुको विस्तृत अध्ययनपछि मात्रै अघि बढ्ने/नबढ्ने निश्चित हुने

मङ्गलबार, १९ साउन २०७८, १२ : ३९
मङ्गलबार, १९ साउन २०७८

मेलम्ची नदीमा लगातार आएको लेदोसहितको बाढीका कारण मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको छ । गत असार १ गतेदेखि लगातार रुपमा आइरहेको लेदो सहितको ठूला साना बाढीका कारण आयोजनाको बाँधस्थल पूर्णरुपमा पुरिएको छ भने पुल, निर्माण उपकरण, निर्माण सामग्री, आयोजनाको क्याम्प बाढीले बगाएर लगेको छ ।

आयोजनाको मुख्य बाँधस्थल हेडवक्र्स बाढीले पूर्ण रुपमा पुरेको छ । पुरिएको भाग सबै सफा गएपछि मात्रै कति क्षति भयो भन्न सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई बताए । उनले हालसम्मको क्षतिको अवस्था हेर्दा १ अर्ब रुपैयाँ माथिको क्षति भएको बताए ।

आयोजना स्थलमा रहेका २ वटा पुल, निर्माण सामग्री राखिएको क्याम्प र मजदुर बस्ने क्याम्प, निर्माण व्यवसायीको निर्माण उपकरण बाढीले बगाएको छ । निर्माण व्यवसायीले अहिलेसम्म कति निर्माण उपकरण बगाएको छ त्यसबारे जानकारी दिइनसकेको उनले बताए ।

अम्बाथानमा स्थलगत रुपमा पुगेर अझै अध्ययन गर्ने अवस्था नभएको प्रवक्ता पन्तको भनाई छ । उनले हालै विज्ञहरुले मेलम्ची नदी क्षेत्रमा गरेको प्रारम्भिक अध्ययनका आधारमा तत्काल पुनर्निर्माण गरेर काठमाडौंमा पानी पठाउन सक्ने अवस्था नरहेको बताए ।

उनले भने–‘साधारण वर्षा भयो भने पुस माघबाट अस्थायी रुपमा पानी पठाउन सकिन्छ कि भन्ने हाम्रो आशा थियो । यही साउन १७ गते विज्ञहरुबाट सो क्षेत्रको निरीक्षण भएपछि पहिरो नियन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । अब विज्ञहरूबाट राम्रोसँग पूर्ण अध्ययन गरेपछि मात्रै आयोजनाको काम कसरी अघि बढाउन सकिने हो त्यस अनुसार मात्रै काम गर्न सकिन्छ कि भन्ने अवस्था छ ।’

आयोजनाको काम एकातिर त छँदैछ, आयोजनास्थलमा पुग्नका लागि बाटो र पुल बन्न पनि निकै समय लाग्ने भएको छ । मेलम्चीदेखि आयोजना स्थलसम्म ५ वटा पुल बगेका छन् । अहिलेसम्म पैदलमार्गबाट आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकोले बर्षा रोकिएपछि मात्रै आयोजना स्थलको विस्तृत अध्ययन गर्ने आयोजनाको तयारी छ ।

प्रवक्ता पन्तले भने–‘हामीले हिउँदमा अस्थायी रुपमा भएपनि काठमाडौंमा पानी पठाउन सकिन्छ कि भन्ने सोचेका थियौँ । वर्षा र माथिबाट लेदोसहितको बाढी आउने क्रम पनि रोकिएको छैन् । वर्षायामपछि बाढी पहिरो स्थिर भयो र भविष्यमा फेरि त्यस्तो बाढी नआउने निश्चित भयो भने मात्रै काम अघि बढाउन सकिन्छ ।’

उनले न्यून क्षति हुने अन्य कुनै बैकल्पिक उपाय फेला पारेमा वर्षा रोकिएपछि आयोजनाको काम अघि बढ्न सक्ने उल्लेख गरे । आयोजनाको काम पूर्ण रुपमा सम्पन्न नहुँदै गत वैशाखमा तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेपनि मेलम्ची नदीमा मुहानस्थलदेखि ठाउँ ठाउँमा पहिरो गएको र लगातारको बाढीले  आयोजनास्थल नै पुरेपछि मेलम्चीको पानी काठमाडौं आइपुग्न अनिश्चित भएको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप